Nepal Purbadhar

नाइमा एक्स्पो: अटो फाइनान्सिङमा कर्जा, बीमा र जोखिम व्यवस्थापनमा सरोकारवालाको जोड


काठमाडौँ । अटो फाइनान्सिङमा कर्जा प्रवाह बढ्दै जाँदा जोखिम व्यवस्थापन, बीमा दाबीलाई सहज बनाउने तथा ग्राहकलाई सरल रूपमा कर्जा उपलब्ध गराउने विषयमा सरोकारवालाले जोड दिएका छन्।

नाइमा नेपाल मोबिलिटी एक्स्पो–२०२६ का अवसरमा नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले बिहीबार आयोजना गरेको ‘मोबिलाइजिङ मोबिलिटी थ्रु फाइनान्स एन्ड इन्स्योरेन्स’ विषयक ‘नाइमा मोबिलिटी संवाद’ मा सहभागीहरूले अटो फाइनान्सिङका विभिन्न पक्षबारे धारणा राखेका हुन्।

कर्जा विस्तारसँगै जोखिम व्यवस्थापनमा ध्यान आवश्यक

कार्यक्रममा नेपाल राष्ट्र बैंकका निर्देशक सत्येन्द्र सुवेदीले सन् २००७/०८ को विश्वव्यापी वित्तीय संकटपछि बैंकको पुँजी मात्रै पर्याप्त नहुने देखिएपछि कर्जाको जोखिम व्यवस्थापनका लागि कर्जा–मूल्य अनुपात (एलटीभी) को व्यवस्था गरिएको बताए।

उनका अनुसार सुरुमा हायर पर्चेज कर्जामा ५० प्रतिशत एलटीभीको व्यवस्था रहेकामा अहिले विद्युतीय सवारीसाधनमा ८० प्रतिशत र पेट्रोलियम इन्धनबाट चल्ने सवारीसाधनमा ६० प्रतिशतसम्म कर्जा प्रवाह गर्न सकिने व्यवस्था छ।

“ब्याजदर बढ्दा ऋणीलाई पनि समस्या हुन्छ। त्यसमा सुरक्षित हुनका लागि पनि कर्जा–मूल्य अनुपात महत्त्वपूर्ण छ,” उनले भने।

सुवेदीले कर्जा भुक्तानीमा समस्या बढ्दै गए आयातकर्ता, ऋणी र ऋणदाता सबै प्रभावित हुने भएकाले एलटीभी आवश्यक रहेको बताए। एलटीभीमा परिवर्तन राज्यको नीतिमा निर्भर रहने र आवश्यकता अनुसार परिवर्तन हुन सक्ने उनको भनाइ छ।

विद्युतीय सवारीसाधनलाई हरित वित्तअन्तर्गत राखिएकाले त्यसमा एलटीभी केही सहज गरिएको उनले बताए।

उनले अटो कर्जा र हायर पर्चेज कर्जा एउटै नभएको स्पष्ट पार्दै हायर पर्चेज कर्जाअन्तर्गत मोबाइल तथा घरायसी सामानसमेत पर्ने भएकाले तथ्यांकलाई त्यसैअनुसार बुझ्नुपर्ने बताए।

उनका अनुसार हाल कुल ६० खर्ब रुपैयाँ कर्जामध्ये १ खर्ब ४२ अर्ब रुपैयाँ हायर पर्चेज कर्जा रहेको छ। हायर पर्चेज कर्जा गत वर्षको तुलनामा १० प्रतिशतले बढेको उनले जानकारी दिए।

खराब कर्जा कम रहेको अवस्थामा बैंकहरू सानो मार्जिनमा समेत कर्जा दिन तयार हुने भएकाले यस क्षेत्रमा जोखिम कम रहेको उनले बताए। अटो कर्जामा तत्कालै ठूलो जोखिम वा ‘क्रेडिट बबल’ आउने अवस्था नदेखिएको उनको भनाइ छ।

“एउटा क्षेत्रमा समस्या आएपछि सबै क्षेत्रमा असर पर्छ भन्नेमा राष्ट्र बैंक सतर्क छ,” उनले भने।

बीमा दाबीमा समस्या प्रक्रियाको बुझाइका कारण

एनएलजी इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुनिल बल्लभ पन्तले अटो बीमा दाबी गर्दा समस्या हुने भाष्य बने पनि बीमा दाबीको आधारभूत सिद्धान्त र प्रक्रिया बुझेमा फर्छ्योट सहज हुने बताए।

उनका अनुसार बीमा दाबीका लागि क्षतिको सही विवरण र त्यसलाई प्रमाणित गर्ने आवश्यक कागजात उपलब्ध गराएमा दाबी फर्छ्योट गर्न सहज हुन्छ।

“यो कुरा अहिले परिपक्व भइसकेको छ। बीमा प्राधिकरणले के गर्दा छिटो भुक्तानी दिन सकिन्छ भनेर निर्देशन दिने गरेको छ। अहिले यो प्रक्रिया कहाँ पुगेको छ भनेर ड्यासबोर्डमा राख्नुपर्नेछ,” उनले भने।

पन्तले बीमा दाबी निष्पक्ष र पारदर्शी रूपमा बीमा ऐनअनुसार फर्छ्योट गर्नुपर्ने बताए।

घरायसी सामानमा जोखिम कम देखिने भएकाले त्यस्ता वस्तुको बीमा गर्ने अभ्यास कम रहेको उनले बताए। उनका अनुसार सवारीसाधन र मोबाइल फोनबाहेक अन्य घरायसी सामानमा बीमाको पहुँच न्यून छ।

उनले विद्युतीय सवारीसाधनको ब्याट्रीमा बीमा दाबी गर्दा मूल्यह्रास ५० प्रतिशतसम्म मात्रै कटौती हुने जानकारी दिए।

साना कर्जाका ग्राहक हायर पर्चेज कम्पनीको प्राथमिकतामा

हुलास फिनसर्भ हायर पर्चेज कम्पनीका प्रमुख कार्यकारी अधिकृत समिर ठाकुरले हायर पर्चेज कम्पनीहरूलाई नेपाल राष्ट्र बैंकले कर्जा प्रवाह गर्न सक्ने क्षेत्र छुट्याएको बताए।

उनका अनुसार हायर पर्चेज कम्पनीहरूले सवारीसाधनसँगै घरायसी सामानमा समेत कर्जा प्रवाह गर्दै आएका छन्।

“हाम्रो लक्षित वर्ग भनेको बैंकसम्म पुग्न नसक्ने ग्राहक हुन्। सानो कर्जाका ग्राहकलाई कर्जा प्रवाह गर्नु हाम्रो लक्ष्य हो,” उनले भने।

हायर पर्चेज कम्पनीहरूले बैंकबाट कर्जा लिएर ग्राहकलाई कर्जा प्रवाह गर्ने गरेको जानकारी दिँदै उनले अहिलेसम्म यस्ता कम्पनीहरूले करिब ४० अर्ब रुपैयाँ कर्जा प्रवाह गरिसकेको बताए। पछिल्लो कर्जा प्रवाहमा ८० प्रतिशत सवारीसाधन र २० प्रतिशत मोबाइल खरिदमा गएको उनले जानकारी दिए।

बैंकका प्रक्रिया पूरा गर्न नसकेका वा बैंकिङ प्रक्रियाबाट तत्काल कर्जा लिन नसकेका ग्राहकलाई समेत हायर पर्चेज कम्पनीले कर्जा उपलब्ध गराउने उनले बताए। उनका अनुसार कतिपय अवस्थामा केही घण्टामै कर्जा प्रवाह गर्न सकिन्छ।

युवा पुस्तामा सवारी कर्जाको आकर्षण बढ्दो

ग्लोबल आइएमई बैंकका प्रमुख बजार व्यवस्थापन अधिकृत राजा अर्यालले स्थिर आम्दानी भएका ग्राहकले हायर पर्चेज कर्जा लिने क्रम बढेको बताए।

उनका अनुसार विगतमा गाडी खरिद गर्नेको औसत उमेर ४३ वर्ष रहेकामा अहिले घट्दै गएको छ। अहिले हायर पर्चेज कर्जा लिनेमा ६० प्रतिशत ४० वर्षभन्दा कम उमेरका रहेको उनले बताए। यसमा महिलाको संख्या पनि उल्लेख्य रहेको उनको भनाइ छ।

सवारी कर्जाको बजार काठमाडौँमा केन्द्रित भए पनि पछिल्लो समय कर्जा विस्तार देशका अन्य सहरतर्फ समेत भइरहेको अर्यालले बताए।

“काठमाडौंबाहिरका सहरमा पनि बजार विस्तार गर्दै गएका छौँ,” उनले भने।

स्थिर आम्दानीको स्रोत भएका युवा तथा विद्यार्थीले समेत सवारी कर्जा लिन सक्ने उनले बताए।

हायर पर्चेज कम्पनीलाई बैंकले कर्जा उपलब्ध गराउँदा बैंकका लागि समेत सहज हुने र त्यसबाट जोखिम व्यवस्थापनमा सहयोग पुग्ने अर्यालको भनाइ छ। आवश्यक सबै कागजात पूरा भए बैंकले अर्को दिन नै कर्जा प्रवाह गर्न सक्ने उनले बताए।


Read Previous

ऊर्जामन्त्रीको निजी क्षेत्र सल्लाहकारमा ऊर्जा उद्यमी गणेश कार्की नियुक्त

Read Next

वर्षाको असर छैन नाइमा एक्स्पोमा, अवलोकनकर्ताको घुइँचो, महँगा गाडीमा देखियो आकर्षण

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar