Nepal Purbadhar

नाइमा एक्स्पो: अटो लोनमा बैंकहरूको अफरै अफर!


काठमाडौं। नाइमा नेपाल मोबिलिटी एक्स्पो–२०२६ मा सहभागी बैंकहरूले सवारीसाधन खरिदका लागि कर्जा लिन चाहने ग्राहकलाई विशेष ब्याजदर तथा सुविधासहितको योजना ल्याएका छन्।

नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)सँग साझेदारी गरेका ग्लोबल आइएमई बैंक, सिद्धार्थ बैंक र एनएमबी बैंकले एक्स्पोस्थलमै अटो लोनसम्बन्धी सेवा तथा जानकारी उपलब्ध गराइरहेका छन्।

एक्स्पोमा आफूलाई मन परेको सवारीसाधन छनोट गरेपछि अवलोकनकर्ताले बैंकका स्टलमा पुगेर कर्जाका लागि नाम दर्ता गराउने तथा आवेदन दिने गरेका छन्। बैंकहरूले आधारदरमा ०.५ प्रतिशतदेखि १ प्रतिशतसम्म थप गरी कर्जा उपलब्ध गराइरहेको जनाएका छन्। बैंकहरूले सेवा शुल्कसमेत ०.५ प्रतिशत मात्रै लिइरहेको बताएका छन्।

एक्स्पोको तेस्रो दिनसम्म अवलोकनकर्ताको संख्या बढेसँगै बैंकका स्टलमा कर्जासम्बन्धी जानकारी लिनेको संख्या पनि बढेको छ।

ग्लोबल आइएमई बैंकका एसएमई तथा रिटेल बैंकिङ म्यानेजर मन्जिल बिष्टले एक्स्पोमा हरेक दिन अवलोकनकर्ताको संख्या बढेसँगै बैंकको स्टलमा कर्जासम्बन्धी जानकारी लिनेको संख्या पनि उल्लेख्य बढेको बताए।

“गाडी छनोट गरिसकेपछि हाम्रो स्टलमा आएर कर्जाका लागि नाम टिपाउने तथा क्यूआर स्क्यान गरेर आवेदन दिनेहरूको संख्या उल्लेख्य छ,” उनले भने, “सवारी विक्रेता कम्पनीहरूले आकर्षक अफर ल्याएर अवलोकनकर्ताको मन जितिरहँदा त्यसलाई सहयोग पुग्ने गरी हामीले काम गरिरहेका छौँ।”

मेलामा कर्जाका लागि नाम दर्ता गराउने ग्राहकलाई सम्बन्धित शाखासँग जोड्न बैंकका स्टलले सहजीकरण गरिरहेका छन्।

सिद्धार्थ बैंकका लाजिम्पाट शाखाका प्रबन्धक विष्णुप्रसाद शर्माले स्टलमा संकलन भएका विवरण केन्द्रीय कार्यालयमा पठाउने र केन्द्रीय कार्यालयले ग्राहकलाई सम्पर्क गरी सम्बन्धित शाखासँग जोड्ने गरेको बताए।

“कतिपय अवलोकनकर्तालाई हामीले सिधै शाखासँग जोडिदिने गरेका छौँ,” उनले भने। सवारीसाधन छनोट गरेपछि कर्जाका लागि नाम दर्ता गराउनेको संख्या हरेक दिन बढिरहेको उनले बताए।

त्यस्तै, एनएमबी बैंकले पनि एक्स्पोस्थलमा रहेका ग्राहकलाई कर्जासम्बन्धी सेवा उपलब्ध गराइरहेको जनाएको छ। बैंककी रिलेसनसिप म्यानेजर समीक्षा पन्तले आकर्षक ब्याजदरमा कर्जा उपलब्ध गराउन सहजीकरण भइरहेको बताइन्।

“हामीले मेला अवलोकनकर्तालाई आकर्षक ब्याजदरमा कर्जा उपलब्ध गराउन सहजीकरण गरिरहेका छौँ,” उनले भनिन्, “नाइमालाई लक्षित गरेर ब्याजदर परिमार्जन गरेका हौँ। ग्राहकको प्रतिक्रिया राम्रो आइरहेको छ।”

नेपालमा दिगो, हरित तथा प्रविधिमैत्री यातायात प्रणालीलाई प्रवर्धन गर्ने उद्देश्यले आयोजना गरिएको दोस्रो संस्करणको नाइमा नेपाल मोबिलिटी एक्स्पो साउन ३१ गतेसम्म सञ्चालन हुनेछ।

एक्स्पोमा स्वदेशी तथा बहुराष्ट्रिय सवारीसाधन निर्माता र आयातकर्ताको उल्लेख्य सहभागिता छ। नेपालमा पहिलोपटक प्रवेश गरेका ब्रान्डदेखि नयाँ मोडलका विद्युतीय कार, ई–स्कुटर तथा विद्युतीय व्यावसायिक सवारीसाधन एक्स्पोका मुख्य आकर्षण बनेका छन्।


Read Previous

नाइमा एक्स्पो: दुई पाङ्ग्रे सवारीमा ‘जेन-जी’ पुस्ता आकर्षित (तस्बीरहरू)

Read Next

ऊर्जामन्त्री श्रेष्ठले थपे तीन नयाँ सल्लाहकार, निजी क्षेत्र सल्लाहकारमा इप्पान पूर्व अध्यक्ष गणेश कार्की

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar