
काठमाडौं । ताप्लेजुङमा निर्माण हुन लागेको ७७.५ मेगावाट क्षमताको घुन्सा खोला जलविद्युत् आयोजनाको सिभिल तथा हाइड्रोमेकानिकल निर्माणको ठेक्का शर्मा एन्ड कम्पनी जेभीले पाएको छ ।
कम्पनी र आयोजना बुधबार ठेक्का सम्झौता भएको हो । रेमिट हाइड्रो लिमिटेडले निर्माण गर्न लागेको आयोजनाको सिभिल तथा हाइड्रोमेकानिकल निर्माणका लागि शर्मा एन्ड कम्पनीसहित भारतका निर्माणवृद्धि कन्स्ट्रक्सन्स इन्डिया एलएलपी र प्रथिमा इन्फ्रास्ट्रक्चर लिमिटेडको संयुक्त उपक्रम (जेभी) छनोट भएको हो ।
रेमिट हाइड्रोले उक्त जेभीलाई ‘लेटर अफ इन्टेन्ट टु अवार्ड द कन्ट्र्याक्ट’ (एलओआई) जारी गर्दै ठेक्का दिएको थियो छ।
जेभीले भ्याट र भन्सार शुल्कबाहेक ५ अर्ब २३ करोड रुपैयाँ तथा १ करोड ४४ लाख अमेरिकी डलरमा काम गर्ने सम्झौता भएको छ । यसअनुसार ठेक्काको कुल मूल्य करिब ७ अर्ब ४० करोड रुपैयाँ पर्न जान्छ ।
आयोजनाको सिभिल तथा हाइड्रोमेकानिकल निर्माण इन्जिनियरिङ, प्रोक्योरमेन्ट एन्ड कन्स्ट्रक्सन (ईपीसी) मोडेलमा अघि बढाइनेछ।
ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाको वडा नम्बर ५ र ६ मा निर्माण हुने घुन्सा खोला जलविद्युत् आयोजना रन अफ रिभर (आरओआर) प्रकृतिको आयोजना हो। आयोजनालाई सन् २०१६ मै सर्वेक्षण अनुमति प्रदान गरिएको थियो।
आयोजनाको कुल अनुमानित लागत १८ अर्ब रुपैयाँभन्दा बढी रहेको छ। प्रतिमेगावाट लागत करिब साढे २३ करोड रुपैयाँ अनुमान गरिएको छ।
आयोजनाका मुख्य सिभिल संरचनामध्ये २९० मिटर लामो डाइभर्सन टनेल निर्माण गरिनेछ। इन्टेकतर्फ दुईवटा संरचना निर्माण हुनेछन्।
घुन्सा खोलाको वार्षिक बहावमध्ये करिब ८० प्रतिशत पानी मनसुनको जुनदेखि सेप्टेम्बरसम्मको अवधिमा बग्ने गर्छ। बाँकी करिब २० प्रतिशत पानी अक्टोबरदेखि मेसम्मको गैर–मनसुनी अवधिमा उपलब्ध हुने आयोजनाले जनाएको छ। आयोजनाको जलाधार क्षेत्रको ठूलो हिस्सा समुद्री सतहबाट ५ हजार मिटरभन्दा माथि रहेको छ, जहाँ हिम तथा हिमतालसमेत रहेका छन्।
प्राधिकरणसहित तीन संस्थाको ५१ प्रतिशत स्वामित्व
रेमिट हाइड्रोमा नेपाल विद्युत् प्राधिकरणको २१ प्रतिशत सेयर स्वामित्व रहेको छ। त्यस्तै, हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी (एचआईडीसीएल) र विद्युत् उत्पादन कम्पनी लिमिटेडको समान १५–१५ प्रतिशत स्वामित्व छ। यसरी तीन संस्थाको कुल स्वामित्व ५१ प्रतिशत रहेको छ।
बाँकी ४९ प्रतिशत सेयर सर्वसाधारणसहित विभिन्न समूहलाई बिक्री गर्ने तयारी गरिएको छ। त्यसमध्ये वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि २९ प्रतिशत, आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि १० प्रतिशत र सर्वसाधारणका लागि १० प्रतिशत सेयर छुट्याउने योजना छ।
तमोर करिडोरको विद्युत् निकासीमा प्रसारण पूर्वाधार
घुन्सा खोला जलविद्युत् आयोजनाबाट उत्पादन हुने विद्युत् राष्ट्रिय विद्युत् प्रणालीमा जोडिनेछ। आयोजनाको टेकअफ यार्डदेखि मार्गेन सबस्टेसनसम्म विद्युत् पुर्याउन आवश्यक प्रसारण पूर्वाधार निर्माण गरिनेछ।
तमोर नदी बेसिन तथा घुन्सा खोला जलविद्युत् आयोजनालगायतबाट उत्पादन हुने ठूलो परिमाणको विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोड्न रेमिट हाइड्रोले इक्विटी साझेदारका रूपमा तमोर ढुंगेसाँघु पावर ट्रान्समिसन कम्पनी लिमिटेड नामक विशेष उद्देश्ययुक्त कम्पनी (एसपीभी) स्थापना गरेर काम अघि बढाउनेछ।
एसपीभीले मार्गेन सबस्टेसनदेखि ढुंगेसाँघु सबस्टेसनसम्म २२० केभी डबल–सर्किट प्रसारण लाइन निर्माण तथा सञ्चालन गर्नेछ। उक्त प्रसारण लाइन तमोर करिडोरमा निर्माण हुने जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् निकासीका लागि महत्वपूर्ण पूर्वाधारका रूपमा रहनेछ।
यस प्रसारण पूर्वाधारमार्फत तमोर करिडोरमा रहेका विभिन्न जलविद्युत् आयोजनालाई राष्ट्रिय विद्युत् प्रसारण प्रणालीमा आबद्ध गर्न सहज हुने अपेक्षा गरिएको छ।
निर्माण थालेको ४ वर्षमा सक्ने लक्ष्य छ ।
