Nepal Purbadhar

आर्थिक सुधारमा राष्ट्र बैंकलाई सक्रिय सहयात्री बन्न अर्थमन्त्रीको आग्रह


काठमाडौं। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालको आर्थिक रूपान्तरणलाई सफल बनाउन नेपाल राष्ट्र बैंकले केवल नियामकको भूमिकामा सीमित नरही आर्थिक परिवर्तनको सक्रिय सहयात्री र सह–निर्माताका रूपमा अघि बढ्नुपर्ने बताएका छन्।

नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशकहरूसँग बुधबार भएको छलफललाई सम्बोधन गर्दै उनले सरकार, राष्ट्र बैंक, बैंकिङ क्षेत्र र निजी क्षेत्रबीचको प्रभावकारी समन्वयले मात्रै आर्थिक सुधारको लक्ष्य हासिल गर्न सकिने बताए।

उद्योगी–व्यवसायी तथा वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरूसँग पछिल्ला दिनमा भएको छलफलको अनुभव सुनाउँदै अर्थमन्त्री वाग्लेले निजी क्षेत्र अहिले नवीन अवसरसँगै बढी आत्मविश्वास खोजिरहेको बताए।

“निजी क्षेत्रलाई केवल सहुलियत होइन, स्पष्ट नीति, स्थिर नियम, छिटो निर्णय र विश्वसनीय कार्यान्वयन चाहिएको छ,” अर्थमन्त्री वाग्लेले भने।

उनले पछिल्लो एक दशकका आर्थिक नीतिहरूको समीक्षा गर्दै नीतिगत निर्णयहरू कार्यान्वयनमा अपेक्षित परिणाम दिन नसकेको, लगानीकर्ताको आत्मविश्वास कमजोर बनेको, बैंकिङ प्रणालीमा तरलता बढे पनि उत्पादनशील क्षेत्रमा कर्जा प्रवाह अपेक्षित रूपमा हुन नसकेको तथा पूँजी बजार र वास्तविक अर्थतन्त्रबीचको सम्बन्ध कमजोर बनेको उल्लेख गरे। उनका अनुसार यिनै प्रश्नहरूको उत्तरले आगामी दशकको आर्थिक नीति निर्धारण गर्नेछ।

अर्थमन्त्री वाग्लेले चालु आर्थिक वर्षको बजेटलाई सामान्य वार्षिक बजेट नभई आर्थिक सुधार र संरचनागत रूपान्तरणको स्पष्ट रोडम्यापका रूपमा व्याख्या गर्दै अब नेपाल राष्ट्र बैंकले आफ्नो भूमिकालाई पनि सोहीअनुसार पुनर्परिभाषित गर्नुपर्ने बताए।

“हामी समस्या व्यवस्थापन गर्ने नियामक मात्र होइन, समस्या समाधान गर्ने र अवसर सिर्जना गर्ने नियामक बन्नुपर्छ,” उनले भने।

सरकारले घोषणा गरेका आर्थिक सुधारलाई प्रभावकारी बनाउन उत्पादनमुखी क्षेत्रमा कर्जा प्रवाह बढाउने, बैंकिङ प्रणालीमा रहेको अधिक तरलतालाई उद्योग, उत्पादन र रोजगारीमा रूपान्तरण गर्ने, पूँजी बजार, रियल इस्टेट, बैंकिङ प्रणाली र वास्तविक अर्थतन्त्रबीच स्वस्थ सम्बन्ध विकास गर्ने तथा मौद्रिक र वित्तीय नीतिबीचको समन्वयलाई अझ प्रभावकारी बनाउने विषयमा राष्ट्र बैंकले ठोस नीतिगत पहल गर्नुपर्ने उनको भनाइ थियो।

त्यसैगरी डिजिटल वित्त, फिनटेक, वैकल्पिक वित्त, स्टार्टअप वित्तपोषण तथा नयाँ वित्तीय उपकरणलाई सहज बनाउने वातावरण सिर्जना गर्नुपर्ने उल्लेख गर्दै उनले नियमनको उद्देश्य केवल नियन्त्रण नभई उत्पादनशील आर्थिक गतिविधिलाई सक्षम बनाउनु पनि भएको बताए।

“अहिले नेपाललाई सबैभन्दा बढी आवश्यक परेको कुरा नीतिगत आत्मविश्वास (Policy Confidence) हो। यदि सरकार, नेपाल राष्ट्र बैंक, बैंकिङ प्रणाली र निजी क्षेत्र आत्मविश्वासका साथ एउटै दिशामा अघि बढे भने आर्थिक वृद्धि धेरै टाढाको लक्ष्य रहने छैन,” अर्थमन्त्री वाग्लेले बताए।

सरकारले कानुनी संशोधन, संस्थागत सुधार तथा कार्यान्वयनलाई तीव्रता दिइरहेको उल्लेख गर्दै उनले मौद्रिक पक्षबाट पनि त्यही स्तरको स्पष्टता, गति र प्रतिबद्धता आवश्यक रहेको बताए।

अर्थमन्त्री वाग्लेले नेपाल राष्ट्र बैंकलाई केवल नियामक संस्थाका रूपमा नभई आर्थिक रूपान्तरणको साझेदारका रूपमा हेर्नुपर्ने धारणा राख्दै छलफलमा उठेका विषयलाई औपचारिकतामा सीमित नराखी कार्ययोजनामा रूपान्तरण गरिने बताए। आवश्यक परे संयुक्त कार्यदल गठन गरिने, नीतिगत समन्वयलाई संस्थागत बनाइने तथा निर्णय प्रक्रियालाई थप छरितो बनाइने उनको भनाइ थियो।

सम्बोधनको अन्त्यमा उनले सुधारको राजनीतिक इच्छाशक्ति, आर्थिक स्थायित्वको आधार र निजी क्षेत्रको तयारी अहिले नेपालको सबैभन्दा ठूलो अवसर भएको उल्लेख गर्दै सबै निकाय एउटै लक्ष्य र प्रतिबद्धताका साथ अघि बढे नेपालको आर्थिक रूपान्तरण अब केवल कल्पनामा सीमित नरहने विश्वास व्यक्त गरे।


Read Previous

बैंकका सीईओसँग अर्थमन्त्रीको संवादः ‘समस्यामाथि होइन, समाधान र कार्यान्वयनमा केन्द्रित हुनुपर्छ’

Read Next

नेपाली बजारमा मोर्बिडेली मोटरसाइकलको बल्क डेलिभरी सुरु

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar