
रुपन्देही । देशका विभिन्न जिल्लापछि रुपन्देहीमा पनि एलपी ग्यासको अभाव देखिएको छ।
ग्यास आपूर्ति अनियमित भएपछि उपभोक्ता ग्यास सिलिन्डर बोकेर डिलर तथा बिक्री केन्द्रमा लामो लाइनमा बस्न बाध्य भएका छन्। समयमै ग्यास नपाउँदा दैनिक घरायसी कामकाज प्रभावित भएको उपभोक्ताहरूले गुनासो गरेका छन्।
व्यवसायीहरूका अनुसार बढ्दो माग र वितरणमा आएको चापका कारण केही समय आपूर्तिमा समस्या देखिएको हो। यद्यपि आवश्यक परिमाणमा ग्यास आपूर्ति गर्ने प्रयास भइरहेको उनीहरूको भनाइ छ।
आजै सरकारले ग्यास अभावबारे उच्चस्तरीय छलफल गर्दै आगामी तीन महिनासम्म प्रत्येक महिना ५० हजार मेट्रिक टनभन्दा बढी एलपी ग्यास आयात गर्ने निर्णय गरेको थियो। साथै, समस्या देखिएका जिल्लामा ग्यास वितरणलाई थप प्रभावकारी र नियमित बनाउने निर्णय पनि गरिएको छ।
उपभोक्ताले कृत्रिम अभाव सिर्जना नगर्न र आवश्यकताभन्दा बढी ग्यास भण्डारण नगर्न सम्बन्धित निकायले आग्रह गरेका छन्।



