Nepal Purbadhar

माटोसँग खेलेर बित्यो जीवन, आजकल पेसा संकटको चिन्ता (तस्बिर)


सिरहा । बुवा–बाजेको जीवन माटोमै बित्यो । सिरहाको धनगढीमाई नगरपालिका–७, कसहाका ५५ वर्षीय राजेन्द्र पण्डितले पनि माटोकै सामग्री बनाएर आजसम्मको जीवन कटाए । छोराछोरीले पनि यो काम सिकेका छन् । तर बजारमा रेडिमेड सामग्रीको प्रयोग बढ्दै जाँदा माटोका भाँडा बनाउने पेसा नै संकटमा पर्ने चिन्ता उनलाई छ ।

दसैँ सकिएलगत्तै दीपावली र छठ पर्वका लागि माटोका भाँडा तथा पूजासामग्री बनाउन कुम्हाल समुदायलाई भ्याइनभ्याइ छ । बिहानदेखि बेलुकासम्म परिवारका सबै सदस्य माटोका सामग्री बनाउन व्यस्त छन् । परिवारका कसैले माटो खन्ने र तयार पार्ने काम गर्छन् भने कसैले मेसिन र हातको सहायताले भाँडा बनाउँछन् । चाडपर्व नजिकिएसँगै उत्पादन बढाउनुपर्ने बाध्यता भएपनि उचित मूल्य नपाउँदा उनीहरू आफ्नो पेसाको भविष्यप्रति चिन्तित छन्।

राजेन्द्रकाअनुसार पछिल्लो समय माटोको मूल्यदेखि दैनिक उपभोग्य वस्तुसम्मको भाउ बढेको छ । तर, आफूहरूले मेहनत गरेर बनाएका माटाका भाँडाको मूल्य भने बढ्न नसकेको उनले सुनाए । ‘सबै सामग्री मिलाएर एक सेटको १ सयदेखि १५० सम्ममा बिक्री हुन्छ । त्यसमा लागत नै ६० देखि ७० रुपैयाँ लागेको हुन्छ । यही पेसाबाट परिवारको जीविकोपार्जन गर्दै आएका छौँ । तर रेडिमेड सामग्रीको प्रयोग बढ्दै जाँदा हाम्रो पेसा संकटमा परेको छ,’ उनी चिन्तित सुनिए ।

सोही वडाका स्थानीय उपेन्द्र पण्डित पनि पुस्तौँदेखि माटाका भाँडा बनाउने पेसामा संलग्न छन् । मेहनतअनुसार आम्दानी नहुँदा परिवार पाल्न र आर्थिक अवस्था सुधार्न कठिन भइरहेको उनी बताउँछन् । अर्को पेसामा जाने सीप र अवसर नहुँदा पुर्खाले गर्दै आएको पेसालाई निरन्तरता दिन बाध्य भएको उनको भनाइ छ । ‘पहिला बुवा–बाजेले माटाका भाँडा बनाएर पहिलो सिजनमै खेत किन्न सक्नुहुन्थ्यो। अहिले हामी वर्षभर मेहनत गर्दा पनि एक कठ्ठा जग्गा किन्न सक्ने अवस्था छैन । वर्षभरि कमाएको पैसा परिवारको जीविकोपार्जन र छोराछोरीको पढाइ-लेखाइमै सकिन्छ,’ उपेन्द्रले भने ।

हरेक वस्तुको मूल्य बढ्दा माटाका सामग्रीको मूल्यमा वृद्धि नहुनु आफूहरूका लागि ठूलो समस्या भएको उनको भनाइ छ । पेसा संरक्षण र जीविकोपार्जनका लागि आवश्यक वातावरण बनाइदिन उनले सरकारसँग आग्रह गरे ।

कुम्हाल समुदायको पेसा र चाडपर्वको सम्बन्ध बालबालिकासँग पनि जोडिएको छ। चाडपर्वका बेला विद्यालय बिदा हुँदा कतिपय बालबालिकाले आफ्ना बुवा–आमालाई माटाका सामग्री बनाउन सघाउने गरेका छन्।

कक्षा ३ मा अध्ययनरत अनिषकुमार पण्डित पनि बिदाको समयमा अभिभावकलाई सघाइरहेका छन् । ‘विद्यालय बिदा भएकाले बुवा–आमालाई काममा सघाइरहेको छु। उहाँहरूले वर्षौँदेखि यही पेसा गरेर हामीलाई पढाउँदै आउनुभएको छ। त्यसैले हामी पनि काममा सहयोग गर्छौँ,’ अनिषले भने।

स्थानीय अर्जुन पण्डितले माटाका सामग्रीको उचित मूल्य निर्धारण हुनुपर्ने आवश्यकता औँल्याए । उनकाअनुसार उत्पादकबीच एकता र बजार व्यवस्थापनको अभावले पनि पेसा संकटमा परेको छ । एकातिर उत्पादकबीच एकता कमजोर छ भने अर्कोतिर बजारमा रेडिमेड सामग्रीको किनबेच बढ्दै गएको छ । यस्तो अवस्थामा परम्परागत पेसालाई टिकाइराख्न कठिन भएको उनको भनाइ छ।

आधुनिक सामग्रीको प्रयोग बढेपनि धार्मिक तथा सांस्कृतिक परम्परामा माटाका भाँडाको महत्त्व अझै कायम छ । चाडपर्वमा पूजापाठका लागि माटाका सामग्री प्रयोग गर्ने परम्पराले उनीहरूको पेसालाई केही हदसम्म निरन्तरता दिएको छ ।

माटोको भाँडा बनाउँदै आएका सिरहा नगरपालिका–११ का ब्रहमदेव पण्डितका अनुसार दीपावली र छठजस्ता पर्वमा माटाका सामग्रीको विशेष महत्त्व हुन्छ। भक्तजनले पूजामा प्रयोग गर्ने सामग्री छनोट गर्दा परम्परागत माटाका भाँडालाई प्राथमिकता दिने गरेको उनी बताउँछन् ।

कुम्हाल समुदायका लागि माटो केवल भाँडा बनाउने कच्चा पदार्थ मात्र होइन, पुस्तौँदेखि परिवारको जीविकोपार्जन, संस्कृति र पहिचानसँग जोडिएको आधार पनि हो। तर बढ्दो लागत, उचित मूल्यको अभाव र रेडिमेड सामग्रीसँगको प्रतिस्पर्धाले यो परम्परागत पेसा संकटमा पर्दै गएको उनीहरूको गुनासो छ।

स्थानीय कुम्हाल समुदायले माटोको सामग्रीको उचित मूल्य निर्धारण, उत्पादन तथा बजारीकरणमा सहयोग, आवश्यक तालिम र परम्परागत सीप संरक्षणका कार्यक्रम सञ्चालन गर्न सरकारसँग माग गरेका छन् ।


Read Previous

अर्नब चक्रवातको प्रभाव : काठमाडौं उपत्यकामा दिनभर वर्षा, जनजीवन प्रभावित

Read Next

रावल आयोगको प्रतिवेदन कार्यान्वयनको क्रममा : काठमाडौंको ३०२ रोपनी जग्गा नेपाल सरकारको नाममा ल्याइयो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar