
संघीय संसद बैठक, फाइल फोटो।
काठमाडौं । संघीय संसद्को आगामी अधिवेशन मंसिर दोस्रो साता बोलाउने विषयमा छलफल भएको छ। सरकारले अधिवेशन आह्वानको तयारीबारे सभामुख डोलप्रसाद अर्याललाई जानकारी गराएको हो।
सभामुख अर्यालले बिहीबार सिंहदरबारमा संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलका मुख्य सचेतक तथा प्रमुख सचेतकहरूसँग छलफल गरेका थिए। छलफलमा संसद्मा विचाराधीन विधेयक, संशोधन प्रस्ताव र संसदीय समितिमा भइरहेको दफावार छलफलबारे चर्चा भएको थियो।
संघीय संसद् सचिवालयका अनुसार दुवै सदनमा गरी ३६ ओटा विधेयक विचाराधीन छन्। तीमध्ये प्रतिनिधिसभाका विभिन्न विषयगत समितिमा २४ ओटा विधेयक रहेका छन्।
आगामी अधिवेशनमा बढीभन्दा बढी विधेयक पारित गर्ने सरकारको तयारी रहेको सन्देश पनि सभामुखमार्फत राजनीतिक दलहरूलाई दिइएको छ।
यसअघि राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको सिफारिसमा असोज १६ गते राति १२ बजेदेखि लागू हुने गरी संसद् अधिवेशन अन्त्य गरेका थिए।

