Nepal Purbadhar

भारी वर्षाको जोखिमपछि बेनी-जोमसोम र बेनी-दरबाङ सडकमा रातिको सवारी आवागमन दुई दिन बन्द


म्याग्दी । भारी वर्षाको पूर्वानुमानपछि म्याग्दीका बेनी-जोमसोम र बेनी-दरबाङ सडकमा रातिको समयमा सवारी आवागमन अस्थायी रूपमा बन्द गरिएको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आइतबार र सोमबार भारी वर्षा हुने प्रक्षेपण गरेपछि जिल्ला सुरक्षा समितिको निर्णयअनुसार दुवै सडकमा आइतबार र सोमबार साँझ ७ बजेदेखि भोलिपल्ट बिहान ५ बजेसम्म सवारी सञ्चालन रोकिएको हो।

प्रमुख जिल्ला अधिकारी रवीन्द्र आचार्यका अनुसार यात्रुको सुरक्षा तथा सम्भावित बाढी-पहिरोबाट हुन सक्ने जोखिमलाई ध्यानमा राख्दै रातिको समयमा सवारी सञ्चालनमा रोक लगाइएको हो।

बेनी-जोमसोम सडक कालीगण्डकी करिडोरअन्तर्गत पर्ने महत्वपूर्ण मार्ग हो। यही सडक हुँदै मुस्ताङ, मुक्तिनाथ तथा कोरला नाकासम्म आवागमन हुने गर्छ। त्यस्तै, पश्चिम म्याग्दीलाई सदरमुकाम बेनीसँग जोड्ने बेनी-दरबाङ सडक पनि दुई दिन रातिको समयमा बन्द रहनेछ।

प्रशासनले अत्यावश्यकबाहेक रातिको यात्रा नगर्न तथा मौसम र सडक अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न सर्वसाधारणलाई आग्रह गरेको छ।


Read Previous

काँकडभिट्टा नाकाबाट चिया निर्यातमा गिरावट, एक वर्षमै ६४ करोड रुपैयाँ आम्दानी घट्यो

Read Next

नारायणगढ-मुग्लिन सडक पूर्ण रूपमा सञ्चालनमा, सतर्कता अपनाउन यात्रुलाई आग्रह

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar