Nepal Purbadhar

काँकडभिट्टा नाकाबाट चिया निर्यातमा गिरावट, एक वर्षमै ६४ करोड रुपैयाँ आम्दानी घट्यो


झापा । पूर्वी नेपालको प्रमुख व्यापारिक नाका काँकडभिट्टाबाट भारततर्फ हुने नेपाली चियाको निर्यातमा गत आर्थिक वर्ष उल्लेख्य गिरावट आएको छ। निर्यातको परिमाणसँगै आम्दानी पनि घटेको भन्सार कार्यालयको तथ्याङ्कले देखाएको छ।

काँकडभिट्टा भन्सार कार्यालयका अनुसार आर्थिक वर्ष २०८२/८३ मा १३ हजार ४५ मेट्रिक टन चिया निर्यात भएको छ, जसको कुल मूल्य तीन अर्ब ५२ करोड ९६ लाख ६९ हजार रुपैयाँ रहेको छ।

यसअघि आर्थिक वर्ष २०८१/८२ मा १५ हजार ३११ मेट्रिक टन चिया निर्यात हुँदा चार अर्ब १६ करोड ९३ लाख ५८ हजार रुपैयाँ बराबरको आम्दानी भएको थियो। यस आधारमा एक वर्षमै चिया निर्यातबाट हुने आम्दानी ६३ करोड ९६ लाख ८९ हजार रुपैयाँले घटेको छ।

काँकडभिट्टा भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक शिवलाल न्यौपानेका अनुसार यस नाकाबाट निर्यात हुने वस्तुमध्ये अलैँचीपछि चिया दोस्रो स्थानमा पर्छ।

उनका अनुसार नेपाली चियाको प्रमुख बजार भारत भएकाले भारतीय बजारमा मूल्यको उतारचढाव, गुणस्तर परीक्षणका क्रममा देखिने गैरभन्सार अवरोध तथा अन्तरराष्ट्रिय बजारको मागअनुसार उत्पादन र मूल्य निर्धारणमा आउने परिवर्तनले चिया निर्यात प्रभावित भएको हो।

नेपालमा उत्पादन हुने सिटिसी (CTC) र अर्थोडक्स चियाको ठूलो हिस्सा काँकडभिट्टा नाकामार्फत भारतीय बजारमा पुग्ने गर्छ। निर्यातमा आएको गिरावटले चिया उत्पादक किसान, उद्योगी तथा मुलुकको वैदेशिक व्यापारमा समेत नकारात्मक प्रभाव पार्ने देखिएको छ।


Read Previous

नारायणगढ-मुग्लिन सडकको नाम्सी पुलमा पहिरो, एकतर्फी मात्रै सवारी सञ्चालन

Read Next

भारी वर्षाको जोखिमपछि बेनी-जोमसोम र बेनी-दरबाङ सडकमा रातिको सवारी आवागमन दुई दिन बन्द

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar