Nepal Purbadhar

नेपाल दूरसञ्चार प्राधिकरणले पायो नयाँ नेतृत्व, नियमन बलियो बनाउन सञ्चारमन्त्रीको निर्देशन


दूरसञ्चार क्षेत्रको भविष्य नयाँ नेतृत्वको निर्णयले तय गर्ने, जनहितलाई केन्द्रमा राखेर काम गर्न आग्रह

काठमाडौं, ३२ असार। नेपाल दूरसञ्चार प्राधिकरणमा चार जना नयाँ सदस्य नियुक्त भएका छन्। सूचना तथा सञ्चारमन्त्रीस्तरको असार ३२ गतेको निर्णयअनुसार लेखा तथा लेखापरीक्षणतर्फ क्षेत्रगोपाल प्रधान, प्राविधिक तथा प्रशासनतर्फ अनन्त मल्लिक, कानुनतर्फ निलमकुमार ओझा र बजार व्यवस्थापनतर्फ सुजिता श्रेष्ठ सदस्य नियुक्त भएका हुन्।

नवनियुक्त सदस्यहरूलाई पदभार ग्रहणअघि निर्देशन दिँदै सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले दूरसञ्चार प्राधिकरण देशको दूरसञ्चार क्षेत्रको विकास, विस्तार र नियमनसँग प्रत्यक्ष जोडिएको महत्वपूर्ण संस्था भएकाले जनहितलाई केन्द्रमा राखेर काम गर्न आग्रह गरे।

उनले प्राधिकरणको नयाँ नेतृत्वका निर्णय र कार्यशैलीले नेपालको दूरसञ्चार क्षेत्रको भविष्य निर्धारण गर्ने उल्लेख गर्दै उच्च नैतिकता, पारदर्शिता र उत्तरदायित्वका साथ जिम्मेवारी निर्वाह गर्न निर्देशन दिए।

सञ्चारमन्त्री तिमिल्सिनाले दूरसञ्चार सेवा प्रदायक कम्पनीहरूको प्रभावकारी नियमन, सेवा गुणस्तर सुधार, उपभोक्ता हित संरक्षण तथा डिजिटल पूर्वाधार विस्तारमा प्राधिकरणले नेतृत्वदायी भूमिका खेल्नुपर्ने बताए। उनले नियामकीय भूमिका अझ सुदृढ बनाउनुपर्ने आवश्यकता औँल्याउँदै संस्थागत सुधारमा जोड दिए।

उनले जनहितविपरीत हुने कुनै पनि गतिविधि सरकारका लागि स्वीकार्य नहुने स्पष्ट पार्दै कार्यसम्पादन सन्तोषजनक नभए सरकारले आवश्यक निर्णय लिन सक्ने चेतावनीसमेत दिए।

नवनियुक्त सदस्यहरूले कानुनसम्मत, पारदर्शी र इमानदार ढंगले जिम्मेवारी निर्वाह गर्ने, संस्थागत हितलाई प्राथमिकतामा राख्ने तथा दूरसञ्चार क्षेत्रको प्रभावकारी विकास र नियमनमा सक्रिय भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरेका छन्।


Read Previous

मन्त्रिपरिषद्का ७ निर्णय: मिटरब्याज पीडितसँग वार्ता टोलीदेखि नयाँ सिक्का टक्मरीसम्म

Read Next

भोलिदेखि बिजुली महँगो हुने, लाखौं उपभोक्ताको मासिक विद्युत् बिल बढ्ने

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar