
म्याग्दी। म्याग्दीको अन्नपूर्ण गाउँपालिका-४ नारच्याङस्थित ६ मेगावाट क्षमताको रेलेखोला जलविद्युत् आयोजना बाढीका कारण बन्द भएको छ।
आयोजनाको बाँध (इन्टेक) क्षेत्रमा बाढी पस्दा संरचनामा क्षति पुगेपछि असार २८ गतेदेखि विद्युत् उत्पादन पूर्ण रूपमा रोकिएको आयोजनाले जनाएको छ।
आयोजनाका प्रमुख दार्शनिक काफ्लेका अनुसार बाढीसँगै आएको पहिरोका कारण बाँधसम्म पुग्ने सडकसमेत अवरुद्ध भएको छ। यसले क्षतिको निरीक्षण तथा मर्मत कार्यमा समेत कठिनाइ उत्पन्न भएको उनले बताए।
उनका अनुसार बाढीले इन्टेक संरचनामा क्षति पुर्याएको छ भने विद्युत् उत्पादन बन्द भएपछि आयोजनाले आर्थिक नोक्सानी पनि व्यहोर्नुपरेको छ।
गत वर्ष निर्माण सम्पन्न भएको रेलेखोला जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् दाना सबस्टेशनमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ। आयोजना पुनः सञ्चालन गर्न क्षतिको मूल्याङ्कन तथा मर्मतको तयारी भइरहेको जनाएको छ।
