
मुस्ताङ। मुस्ताङको घरपझोङ गाउँपालिका–५ स्थित ठिनी खोलामा पक्की मोटरेबल पुल निर्माण सम्पन्न भएको छ। गण्डकी प्रदेश सरकारअन्तर्गत पूर्वाधार विकास कार्यालय मुस्ताङले निर्माण गरेको पुल निर्धारित समयभन्दा अगावै सम्पन्न भएको हो।
पूर्वाधार विकास कार्यालयका अनुसार चालु आर्थिक वर्षमै घरपझोङ चक्रपथसँगै ठिनी खोलाको पुल निर्माण सम्पन्न गरिएको हो। दुई वर्षभित्र निर्माण सक्ने लक्ष्यसहित सुरु भएको पुल आगामी साउन २० गतेभित्र सम्पन्न गर्ने सम्झौता भए पनि निर्माण कम्पनीले समयअघि नै काम पूरा गरेको जनाएको छ।
कार्यालयका इन्जिनियर सुरेश पाण्डेका अनुसार निर्माण कम्पनीको सक्रियताका कारण घरपझोङ गाउँपालिकाका पाँचै वडा जोड्ने चक्रपथअन्तर्गतको पुल निर्धारित समयभन्दा छिट्टै निर्माण सम्पन्न भएको हो। उनले यसअघि विभिन्न कारणले छ पटकसम्म म्याद थपिएको घरपझोङ चक्रपथ सडक पनि यही आर्थिक वर्षमा सम्पन्न भएको जानकारी दिए।
पुल निर्माणसँगै मुस्ताङ सदरमुकाम जोमसोमबाट ठिनी खोला हुँदै ढुम्बा ताल, छैरो, मार्फा, स्याङ र पुनः जोमसोम जोड्ने चक्रपथ पूर्ण रूपमा सञ्चालनमा आएको छ। यसले गाउँपालिकाका पाँचै वडाबीचको आवतजावतलाई थप सहज बनाएको छ।
करिब चार करोड ४६ लाख रुपैयाँ लागतमा निर्माण भएको ३५ मिटर लामो एक स्पानको मोटरेबल पुलको निर्माण अमित अशेष जेभी कन्स्ट्रक्सनले गरेको हो। फुटपाथसहित पुलको चौडाइ ८.४ मिटर रहेको छ।
निर्माण कम्पनीका प्रतिनिधि सुरेश भट्टराईका अनुसार पुल निर्माण सम्पन्न भएपछि एक वर्षको परीक्षण अवधिपछि कार्यालयलाई औपचारिक रूपमा हस्तान्तरण गरिनेछ। यो पुल घरपझोङको १०.५ किलोमिटर लामो चक्रपथ सडकको महत्वपूर्ण पूर्वाधार हो।
पुल सञ्चालनमा आएपछि मुक्तिनाथ दर्शनका लागि आउने पर्यटकलाई ढुम्बा तालसम्म पुग्न सहज भएको छ। साथै ढुम्बा, स्याङ, सम्लेलगायत क्षेत्रका किसानले कृषि उपज बजारसम्म ढुवानी गर्न पनि सुविधा पुगेको अपेक्षा गरिएको छ।
यसअघि ठिनी खोलामा पक्की पुल नहुँदा विशेषगरी वर्षायाममा स्थानीयवासी र पर्यटकलाई आवतजावतमा समस्या हुने गरेको थियो। नयाँ पुल सञ्चालनमा आएसँगै अब वर्षभरि नै सवारीसाधन सञ्चालन गर्न सहज हुने भएको छ।
