Nepal Purbadhar

गोरखाको बाह्रकिलो बजारका घरटहरा स्वेच्छाले खाली, सार्वजनिक वन क्षेत्र संरक्षणको तयारी


गोरखा। गोरखा नगरपालिका-११ स्थित सार्वजनिक वन क्षेत्रभित्र सञ्चालन हुँदै आएको बाह्रकिलो बजारका घरटहरा स्वेच्छाले खाली गरिएको छ। नगरपालिका, जिल्ला प्रशासन कार्यालय, डिभिजन वन कार्यालय र ओख्लेपाखा सामुदायिक वन उपभोक्ता समूहको संयुक्त पहलपछि करिब २० वर्षदेखि सञ्चालनमा रहेको बजार हटाउने प्रक्रिया अघि बढेको हो।

सम्बन्धित निकायले पटक-पटक सूचना जारी गर्दै असार ३० गतेभित्र संरचना खाली गर्न आग्रह गरेपछि बजारका पसल सञ्चालकहरूले मङ्गलबार आफ्ना घरटहरा स्वेच्छाले खाली गरेका हुन्।

डिभिजन वन कार्यालयका अनुसार वन क्षेत्रभित्र निर्माण गरिएका ३५ भन्दा बढी घरटहराबारे निरन्तर जानकारी, समन्वय र सचेतना अभियान सञ्चालन गरिएको थियो। त्यसपछि व्यवसायीहरू आफैँ संरचना खाली गर्न सहमत भएका हुन्।

गोरखा नगरपालिकाको कार्यपालिकाले सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाउने निर्णय गरेपछि जिल्ला प्रशासन कार्यालयसँग समन्वय गर्दै डिभिजन वन कार्यालय, सबडिभिजन वन कार्यालय तथा ओख्लेपाखा सामुदायिक वन उपभोक्ता समूहले सार्वजनिक जग्गा खाली गराउने प्रक्रिया अघि बढाएका थिए।

डिभिजन वन कार्यालयका प्रमुख मदनमोहन शाण्डिल्यले लिखित र मौखिक दुवै माध्यमबाट पटक-पटक आग्रह गरिएकै कारण पसलधनीहरूले संरचना खाली गरेको बताए।

उनका अनुसार सबै घरटहरा हटाइसकेपछि वन क्षेत्रलाई तारबार गरेर सुरक्षित बनाइनेछ। त्यसका लागि आवश्यक नापजाँचको कामसमेत सम्पन्न भइसकेको उनले जानकारी दिए।

आँबुखैरेनी-गोरखा सडकबाट छेपेटारतर्फ जाने चोकमा रहेको सार्वजनिक वन क्षेत्र अतिक्रमण गरेर करिब दुई दशकदेखि बाह्रकिलो बजार सञ्चालन हुँदै आएको थियो। यसअघि विसं २०७३ मा पनि बजार हटाउने प्रयास गरिएको भए पनि केही समयपछि पुनः सञ्चालनमा आएको थियो।

वन कार्यालयले यसपटक भने वन क्षेत्र पुनः अतिक्रमण हुन नदिन स्थायी रूपमा तारबार गरी संरक्षण गर्ने तयारी गरेको जनाएको छ।


Read Previous

आजदेखि देशभर भरी ग्यास सिलिण्डर उपलब्ध हुने

Read Next

बाढीले क्षति पुर्‍याएपछि रेलेखोला जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन ठप्प

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar