
काठमाडौं। रसुवाको ल्हेन्दे खोलामा पानीको सतह बढ्दै लेदोयुक्त बाढी आउन थालेपछि पूर्वसावधानीस्वरूप १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजनाको विद्युत् उत्पादन अस्थायी रूपमा बन्द गरिएको छ।
रसुवागढी जलविद्युत् केन्द्रका अनुसार सम्भावित जोखिमलाई ध्यानमा राख्दै आइतबार साँझदेखि विद्युत् उत्पादन रोकिएको हो। खोलाको बहाव सामान्य अवस्थामा फर्किएमा सोमबारदेखि पुनः उत्पादन सुरु गर्ने तयारी गरिएको आयोजनाले जनाएको छ।
गत वर्ष असार २४ गते ल्हेन्दे खोलामा आएको बाढीले आयोजनाको बाँधसहित विभिन्न संरचनामा ठूलो क्षति पुर्याएको थियो। त्यसपछि मर्मत तथा पुनर्निर्माण गरी सञ्चालनमा ल्याइएको आयोजना पुनः जोखिममा पर्न सक्ने आकलन गर्दै सुरुङतर्फ पानी लैजाने गेट बन्द गरिएको आयोजनाले जनाएको छ।
हाइड्रोपावरका अनुसार खोलाको बहाव निरन्तर निगरानीमा राखिएको छ। अवस्था सुरक्षित देखिएमा सोमबार नै पुनः विद्युत् उत्पादन सञ्चालनमा ल्याइने छ।
