Nepal Purbadhar

गणेश नेपाली प्रकरणमा सरकार,महानगरपालिका र पीडित पक्षबीच भएको ९ बुँदे सहमतिमा के छ?


काठमाडौं। वीर अस्पतालको बर्न युनिटमा उपचारका क्रममा निधन भएका मुगुको सोरु गाउँपालिका–१ जवलधाराका २५ वर्षीय गणेश नेपालीको घटनाबारे नेपाल सरकार, काठमाडौं महानगरपालिका र पीडित पक्षबीच ९ बुँदे सहमति भएको छ।

आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौंमा प्रमुख जिल्ला अधिकारीको उपस्थितिमा भएको वार्तापछि सहमतिपत्रमा हस्ताक्षर गरिएको हो। सहमतिसँगै सरकार र महानगरपालिकाले स्वर्गीय गणेश नेपालीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेका छन्।

सहमतिअनुसार घटनाको सत्यतथ्य र निष्पक्ष छानबिनका लागि नेपाल सरकारले पूर्वन्यायाधीशको संयोजकत्वमा यथाशीघ्र स्वतन्त्र छानबिन समिति गठन गर्नेछ। समितिले गठन भएको सात दिनभित्र आफ्नो प्रतिवेदन सरकारसमक्ष बुझाउनेछ।

यस्तै, गणेश नेपालीलाई सहिद घोषणा गर्ने विषयमा प्रचलित कानुन, विगतको अभ्यास तथा छानबिन समितिको प्रतिवेदन र सिफारिसका आधारमा आवश्यक निर्णय प्रक्रिया अघि बढाइने सहमति भएको छ।

घटना भएको दिन अग्रपंक्तिमा खटिएका काठमाडौं महानगरपालिकाका महानगरीय प्रहरी बलका कर्मचारीलाई छानबिन आयोगको प्रतिवेदन नआएसम्मका लागि निलम्बन गर्न जिल्ला प्रशासन कार्यालयले काठमाडौं महानगरपालिकालाई पत्राचार गर्ने भएको छ।

सहमतिअनुसार काठमाडौं महानगरपालिकाको आगामी कार्यपालिका बैठकबाट निर्णय गरी मृतककी श्रीमतीलाई योग्यता र क्षमताका आधारमा रोजगारी उपलब्ध गराइनेछ। साथै, मृतककी छोरीको उच्च शिक्षासम्मको सम्पूर्ण खर्च महानगरपालिकाले व्यहोर्नेछ भने त्यसका लागि नेपाल सरकारका सम्बन्धित निकायले आवश्यक समन्वय गर्नेछन्।

त्यसैगरी, कार्यपालिका बैठकबाट निर्णय गरी मृतकको आश्रित परिवारलाई राहतस्वरूप यथोचित रकम उपलब्ध गराइने सहमति भएको छ। मृतकको अन्त्येष्टि तथा काठमाडौंमा गरिने काजक्रियाको सम्पूर्ण व्यवस्थापन पनि महानगरपालिकाले गर्नेछ।

पीडित परिवारले मृतकको शव बुझ्ने, पोस्टमार्टमसहितका कानुनी प्रक्रियामा सहयोग गर्ने तथा अन्तिम संस्कार सम्पन्न गर्ने जिम्मेवारी लिने सहमति भएको छ। साथै, मृतकका एकाघरका परिवारको काठमाडौं आवतजावत, बसोबास तथा काजक्रियासँग सम्बन्धित सम्पूर्ण खर्च काठमाडौं महानगरपालिकाले व्यहोर्नेछ।

सहमतिअनुसार मृतकका एकाघरका परिवारको स्वास्थ्य बिमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमार्फत गरिने व्यवस्था पनि मिलाइनेछ।

सहमतिपत्रमा नेपाल सरकार तथा स्थानीय तहका तर्फबाट काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेल र काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले हस्ताक्षर गरेका छन्। पीडित परिवारका तर्फबाट मृतककी श्रीमती एकमाया नेपाली, बुवा चिने नेपाली, आमा सौरी नेपाली, दाजु मदन नेपाली, बहिनी सुन्दरी नेपाली तथा वार्ता समितिका प्रतिनिधिहरूले हस्ताक्षर गरेका छन्।


Read Previous

नगर प्रहरीको उपस्थिति घटेपछि न्युरोडको फुटपाथमा फेरि बढ्यो अतिक्रमण

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar