Nepal Purbadhar

नगर प्रहरीको उपस्थिति घटेपछि न्युरोडको फुटपाथमा फेरि बढ्यो अतिक्रमण


काठमाडौं। केही दिनअघिसम्म काठमाडौं महानगरपालिकाले नगर प्रहरी परिचालन गरी न्युरोडलगायतका मुख्य व्यापारिक क्षेत्रमा फुटपाथ अतिक्रमण नियन्त्रणलाई कडाइ गरेको थियो। तर पछिल्ला दिनमा नगर प्रहरीको उपस्थिति घटेसँगै न्युरोडको फुटपाथ फेरि सडक व्यापारीले भरिन थालेको छ।

महानगरले यसअघि फुटपाथमा व्यापार गर्न निषेध गर्दै निश्चित समयबाहेक सडक किनारामा पसल राख्न नदिने व्यवस्था लागू गरेको थियो। नगर प्रहरीको नियमित अनुगमनका कारण केही समय फुटपाथ खाली देखिएको थियो।

तर आत्मदाहको प्रयास गरेका र पछि निधन भएका गणेश नेपालीसँग सम्बन्धित घटनापछि नगर प्रहरीको सडक उपस्थितिमा कमी आएको देखिएको छ। महानगरका एक नगर प्रहरी कर्मचारीका अनुसार उक्त घटनापछि नगर प्रहरीमाथि आक्रमण वा सुरक्षा जोखिम बढ्न सक्ने आकलनका कारण केही समय नियमित सडक ड्युटी सीमित गरिएको हो।

नगर प्रहरीको सक्रियता घटेसँगै न्युरोडसहित काठमाडौंका अन्य व्यस्त क्षेत्रमा फुटपाथमा पुनः व्यापार बढ्न थालेको छ। फुटपाथमा अस्थायी पसल फैलिनुका साथै सडक किनारमा अव्यवस्थित पार्किङसमेत बढेको देखिएको छ।

फुटपाथ व्यापारीको चाप बढेपछि पैदलयात्री सडकमै हिँड्न बाध्य भएका छन्। यसले सवारी आवागमनमा थप अवरोध सिर्जना गर्नुका साथै ट्राफिक जामको समस्या पनि बढाएको स्थानीयको भनाइ छ।

फुटपाथ अतिक्रमण नियन्त्रणलाई प्रभावकारी बनाउँदै पैदलयात्रीको सहज आवागमन सुनिश्चित गर्न महानगरले पुनः नियमित अनुगमन र नगर प्रहरी परिचालन गर्ने अपेक्षा स्थानीय व्यवसायी तथा सर्वसाधारणले गरेका छन्।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी


Read Previous

जर्मनीको अटो उद्योग संकटमा, बेरोजगार बन्दै युवा इन्जिनियर, सकिएकै हो स्वर्ण युग?

Read Next

गणेश नेपाली प्रकरणमा सरकार,महानगरपालिका र पीडित पक्षबीच भएको ९ बुँदे सहमतिमा के छ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar