
काठमाडौं। नेपालको प्रिमियम अटोमोबाइल बजारमा टोयोटा ल्यान्ड क्रुजरप्रतिको आकर्षण निरन्तर बढ्दो छ। तीनदेखि पाँच करोड रुपैयाँभन्दा बढी मूल्य पर्ने भए पनि भरपर्दोपन, अफरोड क्षमता, उच्च पुनर्बिक्री मूल्य (रिसेल भ्यालु) र सामाजिक प्रतिष्ठाका कारण यो एसयूभी उच्च आय भएका ग्राहकको प्रमुख रोजाइ बनेको छ।
नेपालको भौगोलिक बनावट, दुर्गम सडक र लामो दूरीको यात्राका लागि उपयुक्त हुने भएकाले ल्यान्ड क्रुजर उद्योगी–व्यवसायी, उद्यमी, राजनीतिक नेतृत्व तथा उच्च आय भएका व्यक्तिमाझ लोकप्रिय हुँदै गएको नेपालका लागि टोयोटाको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट (वैद्य अर्गनाइजेसन) ले जनाएको छ।
कम्पनीका सेल्स म्यानेजर सन्तोष कार्कीका अनुसार टोयोटाको देशव्यापी सर्भिस नेटवर्क, स्पेयर पार्ट्सको सहज उपलब्धता तथा ब्रान्डप्रतिको विश्वासले पनि ग्राहकलाई आकर्षित गरेको छ। नेपालमा कम्पनीले छ दशकभन्दा लामो समयदेखि टोयोटाका गाडी बिक्री तथा बिक्रीपछिको सेवा उपलब्ध गराउँदै आएको छ।

दुई मोडल, तीनदेखि पाँच करोड रुपैयाँसम्म मूल्य
कम्पनीले सन् २०२४ मा नेपाली बजारमा ल्यान्ड क्रुजर २५० सार्वजनिक गरेको थियो। यो मोडल दुई भेरियन्टमा उपलब्ध छ। यसको टप भेरियन्टको मूल्य तीन करोड ७९ लाख रुपैयाँ र अर्को ‘अलराउन्डर’ भेरियन्टको मूल्य तीन करोड २२ लाख रुपैयाँ निर्धारण गरिएको छ।
यसैगरी, थप प्रिमियम मानिने ल्यान्ड क्रुजर ३०० सिरिजको मूल्य पाँच करोड ३९ लाख रुपैयाँ रहेको कम्पनीले जनाएको छ।
किन रोज्छन् ग्राहक?
कम्पनीका सिनियर म्यानेजर महेन्द्र श्रेष्ठका अनुसार पछिल्ला वर्षमा प्रिमियम गाडीको माग उल्लेखनीय रूपमा बढेको छ। विशेषगरी ल्यान्ड क्रुजर २५० र ३०० सिरिजको बिक्री उत्साहजनक रहेको उनले बताए।
उनका अनुसार अफरोड क्षमता, टिकाउपन, सहज मर्मत सेवा, स्पेयर पार्ट्सको उपलब्धता र उच्च पुनर्बिक्री मूल्यले ल्यान्ड क्रुजरलाई प्रतिस्पर्धी ब्रान्डभन्दा फरक बनाएको छ।
“कहिलेकाहीँ मूल्यभन्दा पनि सुरक्षा र आराम महत्त्वपूर्ण हुन्छ,” श्रेष्ठले भने, “डिजेल गाडी चलाउँदा चार्ज सकिने वा चार्जिङ स्टेशन खोज्नुपर्ने चिन्ता हुँदैन। जहाँ गए पनि सुरक्षित फर्किन सकिन्छ भन्ने विश्वासले ग्राहकलाई आकर्षित गर्छ।”

उनका अनुसार महँगो गाडीले सामाजिक प्रतिष्ठा पनि झल्काउने भएकाले धेरै ग्राहकले यसलाई आफ्नो हैसियत र पहिचानसँग जोडेर हेर्ने गरेका छन्।
अफरोडदेखि सुरक्षासम्म
कम्पनीका अनुसार ल्यान्ड क्रुजर २५० र ३०० सिरिज दुर्गम तथा अफरोड क्षेत्रमा सहज रूपमा सञ्चालन गर्न सकिने गरी डिजाइन गरिएका छन्। उत्कृष्ट सस्पेन्सन, इलेक्ट्रोनिक पावर स्टेरिङ र आधुनिक सुरक्षा प्रणालीका कारण यी गाडी प्रिमियम एसयूभी सेग्मेन्टमा स्थापित छन्।
सुरक्षाका दृष्टिले पनि यी गाडीमा ८ देखि ९ वटासम्म एयरब्याग तथा विभिन्न अत्याधुनिक सेफ्टी फिचर उपलब्ध छन्। यही कारण ग्राहकले मूल्यभन्दा गुणस्तर र विश्वसनीयतालाई प्राथमिकता दिने गरेको कम्पनीको भनाइ छ।
कोभिडपछि फेरि बढ्यो बजार
कम्पनीका अनुसार भूकम्पले बिक्रीमा खासै असर नगरे पनि कोभिड–१९ महामारीका बेला प्रिमियम गाडीको बजार प्रभावित भएको थियो। आर्थिक गतिविधि सुस्त हुँदा धेरै ग्राहकले खरिद स्थगित गरेका थिए।
तर पछिल्ला वर्षमा आर्थिक गतिविधि विस्तारसँगै बिक्री पुनः बढ्न थालेको कम्पनीले जनाएको छ। यद्यपि सेयर बजारलगायत आर्थिक अवस्थाले प्रिमियम गाडीको मागमा केही प्रभाव पार्न सक्ने कम्पनीको आकलन छ।

ईभीसँग प्रत्यक्ष प्रतिस्पर्धा छैन
श्रेष्ठका अनुसार ल्यान्ड क्रुजर र विद्युतीय सवारीसाधन (ईभी) खरिद गर्ने ग्राहकको समूह फरक–फरक छ। दैनिक सहरी प्रयोगका लागि ईभी लोकप्रिय बन्दै गए पनि लामो दूरी, दुर्गम यात्रा तथा अफरोड ड्राइभिङका लागि अझै पनि डिजेल एसयूभी नै धेरै ग्राहकको रोजाइमा पर्ने गरेको उनले बताए।
सामाजिक प्रतिष्ठाको प्रतीक
ब्रान्ड रणनीतिकार प्रशान्त खत्रीका अनुसार नेपाली समाजमा आर्थिक रूपमा सफल भएपछि टोयोटा, विशेषगरी ल्यान्ड क्रुजर खरिद गर्ने धारणा स्थापित हुँदै गएको छ।
उनका अनुसार ल्यान्ड क्रुजर र प्राडोजस्ता मोडलले उच्च पुनर्बिक्री मूल्य कायम राख्ने भएकाले धेरै ग्राहकले यसलाई खर्चभन्दा पनि दीर्घकालीन लगानीका रूपमा लिने गरेका छन्।
हाल ल्यान्ड क्रुजरका प्रमुख ग्राहक व्यवसायी, उद्यमी, उच्च आय भएका व्यक्ति तथा राजनीतिक व्यक्तित्व रहेका छन्। पछिल्लो समय युवा पुस्ताको आकर्षण पनि यसतर्फ बढ्दै गएको खत्रीले बताए।
उनका अनुसार बजारमा अझ महँगा लक्जरी गाडी भए पनि ल्यान्ड क्रुजरको बलियो डिजाइन, रोड प्रेजेन्स र ब्रान्ड पहिचानले यसलाई फरक बनाएको छ। त्यसैले नेपालमा ल्यान्ड क्रुजरलाई सडकमा मात्र होइन, प्रतिष्ठाको प्रतीकका रूपमा पनि हेरिने गरेको छ।

