
काठमाडौं। नेपाल इन्जिनियरिङ परिषद्बाट मान्यता प्राप्त “कन्सेप्चुअल स्केचिङ फर इनोभेटिभ ब्रिज डिजाइन” सम्बन्धी तीन दिने सिपिडी तालिम काठमाडौंमा सम्पन्न भएको छ। सोसाइटी अफ कन्सल्टिङ आर्किटेक्चरल एण्ड इन्जिनियरिङ फर्म्स (स्केफ) नेपालले निर्माण व्यवसाय विकास कार्यान्वयन समिति (सिबिडिआइसी) तथा नेपाल निर्माण व्यवसायी महासंघ (एफक्यान) सँगको सहकार्यमा यो कार्यक्रम आयोजना गरेको हो।
नेपालको परामर्श, निर्माण क्षेत्र तथा सम्बन्धित सरकारी विभाग र मन्त्रालय अन्तर्गतका परियोजनाका सरोकारवाला निकायहरू अर्थात् थ्रि सिज् (नियोक्ता, परामर्शदाता र निर्माण व्यवसायी) को व्यावसायिक क्षमता अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालित उक्त तालिम असार १४ देखि १६ गतेसम्म काठमाडौँस्थित होटल क्रिस्टल पशुपति, गौशालामा आयोजना गरिएको थियो।
यस तालिमले सहभागीहरूलाई पुल डिजाइनका अवधारणात्मक पक्षहरू, स्थलगत अवस्था, वातावरणीय प्रभाव, जलविज्ञान तथा भूगर्भीय तथ्याङ्कलाई पुल डिजाइनमा कसरी एकीकृत गर्ने भन्ने विषयमा व्यावहारिक ज्ञान प्रदान गरेको छ। साथै, विगतमा सामना गर्नु परेका पुल सम्बन्धी समस्या र कारणहरू तथा तिनबाट सिकिएका पाठ, केबल–सपोर्टेड (तारमा आधारित) तथा एक्स्ट्राडोज्ड पुलहरूको डिजाइन मापदण्ड, माइडस सफ्टवेयरमा आधारित मोडलिङ अभ्यास र मादी पुल निर्माण लगायत नेपालका पुल सम्बन्धी परियोजनाका वास्तविक अनुभवहरू समेटिएका सत्रहरूले सहभागीहरूको प्राविधिक क्षमता अभिवृद्धिमा महत्त्वपूर्ण योगदान पुर्याएका छन्।
नेपाल इन्जिनियरिङ परिषद् (एनइसी) बाट मान्यता प्राप्त यस्ता निरन्तर पेसागत विकास तालिमहरूमा सहभागी भई इन्जिनियरहरूले सिपिडी घण्टाहरू प्राप्त गर्न सक्छन्। यसले उनीहरूको व्यावसायिक दक्षता कायम राख्न, व्यावसायिक दर्ता तथा इजाजतपत्र नवीकरणसम्बन्धी आवश्यकताहरू पूरा गर्न तथा राष्ट्रिय एवं अन्तर्राष्ट्रिय इन्जिनियरिङ मापदण्डहरूसँग अद्यावधिक रहन सहयोग पुर्याउँछ। यस सम्बन्धी थप प्राविधिक जानकारी परिषद्को आधिकारिक वेबसाइट www.nec.gov.np मा उपलब्ध गराइएको छ।
तालिमको समापन कार्यक्रममा स्केफ नेपालका महासचिव इन्जिनियर मन्दाकिनी कार्कीले स्वागत मन्तव्य राख्नुभएको थियो भने नेपाल निर्माण व्यवसायी महासंघका प्राविधिक सल्लाहकार इन्जिनियर केशब थोकरले विशेष अतिथिका रूपमा सम्बोधन गर्नुभएको थियो। कार्यक्रमको अन्त्यमा स्केफ नेपालका उपाध्यक्ष इन्जिनियर कमल कार्कीले धन्यवाद ज्ञापन तथा समापन मन्तव्य व्यक्त गर्दै सहभागीहरूलाई प्रमाणपत्र प्रदान गर्नुभएको थियो भने व्यावसायिक विकास तथा क्षमता अभिवृद्धि उपसमितिका संयोजक इन्जिनियर आशय ओझाले सम्पूर्ण कार्यक्रमको सहजीकरण गर्नुभएको थियो।
उक्त तालिममा विभिन्न संस्था तथा पेसागत पृष्ठभूमिका सहभागीहरूको उल्लेखनीय सहभागिता रहेको थियो, जसमा सरकारी निकायका प्रतिनिधिहरू, नियोक्ताका पदाधिकारीहरू, परामर्शदाता, निर्माण व्यवसायी तथा विभिन्न परियोजनाहरूमा कार्यरत इन्जिनियरहरू सहभागी थिए। विविध संस्थागत पृष्ठभूमिबाट आएका सहभागीहरूको सक्रिय सहभागिता र पुल डिजाइन सम्बन्धी अनुभव आदान–प्रदानले प्रशिक्षण कार्यक्रमलाई थप समृद्ध र प्रभावकारी बनाएको थियो। यस तालिम तथा अन्य क्षमता विकास कार्यक्रमसम्बन्धी थप जानकारीका लागि इच्छुक व्यक्तिहरूले स्केफ नेपालको वेबसाइट www.scaef.org.np हेर्न वा इमेल मार्फत सम्पर्क गर्न सक्नेछन्।
