Nepal Purbadhar

खाजामा साङ्ला भेटिएपछि अदोरा होल्डिङलाई तिराइयो साढे दुई लाख रुपैयाँ जरिवाना

एआईद्वारा निर्मित तस्बीर।


काठमाडौं। ललितपुर महानगरपालिका–३, झम्सिखेलस्थित अदोरा होल्डिङमा आलुको परिकारमा साङ्ला भेटिएको उजुरीपछि गरिएको आकस्मिक बजार अनुगमनका क्रममा खाद्य सुरक्षा मापदण्ड उल्लङ्घन भएको पाइएपछि कम्पनीलाई दुई लाख ५० हजार रुपैयाँ जरिवाना गरिएको छ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका अनुसार आलुको परिकारमा साङ्ला भेटिएको भन्दै ह्वाट्सएपमार्फत उजुरी प्राप्त भएपछि विभाग र वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको संयुक्त टोलीले बुधबार उक्त संस्थामा अनुगमन गरेको थियो।

अनुगमनका क्रममा एक लिटरका तीन बोतल फ्रुट सिरपको उपभोग्य मिति सकिएको, लेबलविहीन करिब तीन किलो चाउमिन प्रयोग गरिएको, कृत्रिम खाद्य रङ प्रयोग भएको, प्रयोगपछि राखिएको करिब एक लिटर तेलको टीपीएम मान ३३ रहेको तथा फ्रिजको प्रयोग अव्यवस्थित रहेको पाइएको विभागले जनाएको छ।

अनुगमनपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम अदोरा होल्डिङलाई दुई लाख ५० हजार रुपैयाँ जरिवाना गरेको छ।

विभागका अनुसार म्याद गुज्रिएका खाद्यवस्तु थप अनुसन्धानका लागि नियन्त्रणमा लिइएको छ। साथै उच्च टीपीएम मान भएको करिब एक लिटर तेल र लेबलविहीन करिब तीन किलो चाउमिन नष्ट गरिएको छ। खाद्य स्वच्छता कायम गर्न तथा फ्रिजको व्यवस्थित प्रयोग गर्नसमेत सम्बन्धित व्यवसायीलाई निर्देशन दिइएको विभागले जनाएको छ।


Read Previous

खानी क्षेत्रलाई उत्पादन र रोजगारीसँग जोड्न संसदीय उपसमितिको जोड

Read Next

नेपाल इन्जिनियरिङ परिषद्बाट मान्यता प्राप्त पुल डिजाइनसम्बन्धी तीनदिने सीपीडी तालिम सम्पन्न

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar