Nepal Purbadhar

चर्को आवाज र स्वरूप परिवर्तन गरिएका ४०५ मोटरसाइकल ट्राफिक प्रहरीको नियन्त्रणमा

फाईल तस्बिर।


काठमाडौं। चर्को आवाज निकाल्ने र स्वरूप परिवर्तन गरी सञ्चालन गरिएका मोटरसाइकलविरुद्ध काठमाडौं उपत्यका ट्राफिक प्रहरीले कारबाही तीव्र बनाएको छ। पछिल्लो एक सातामा मात्रै प्रहरीले यस्ता ४०५ ओटा मोटरसाइकल नियन्त्रणमा लिएको छ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) नरेशराज सुवेदीका अनुसार मोटरसाइकलको कम्पनीमा जडित साइलेन्सर परिवर्तन गर्ने, डिबी किलर निकालेर ठूलो आवाज निकाल्ने तथा सिट, रङ, ह्यान्डल र लाइटिङ सिस्टम परिवर्तन गरी चलाउने गरेको पाइएको छ।

चर्को आवाजले वृद्धवृद्धा, बालबालिका तथा बिरामीलाई असर गर्नुका साथै विद्यार्थीको पढाइ र सार्वजनिक वातावरणमा समेत नकारात्मक प्रभाव पार्ने गरेको उनले बताए।

त्यस्तै, अनुमति नलिई मोटरसाइकलको स्वरूप परिवर्तन गर्दा यान्त्रिक संरचनामा असर पर्ने र दुर्घटनाको जोखिम बढ्ने प्रहरीको भनाइ छ। यसले चालकसँगै अन्य सडक प्रयोगकर्ताको सुरक्षामा समेत खतरा निम्त्याउने भएकाले अभियान सञ्चालन गरिएको सुवेदीले बताए।

नागरिकबाट प्राप्त गुनासो सम्बोधन गर्दै ध्वनि प्रदूषण नियन्त्रण र सडक दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले अभियान चलाइएको प्रहरीले जनाएको छ। यसक्रममा विभिन्न सडकमा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुका साथै कारबाहीलाई पनि तीव्रता दिइएको छ।

ट्राफिक प्रहरीले वातावरण विभागसँग समन्वय गरी सवारीसाधनको यान्त्रिक परीक्षण र प्रदूषण नियन्त्रणसम्बन्धी अनुगमनलाई थप प्रभावकारी बनाउने जनाएको छ।

सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा ३९ ले अनुमति नलिई सवारीसाधनको स्वरूप परिवर्तन गर्न निषेध गरेको छ। त्यस्तै, प्रदेश सवारी तथा यातायात व्यवस्था ऐन, २०७५ को दफा १९४ अनुसार अनुमति नलिई स्वरूप परिवर्तन गरी सवारी चलाएमा ७ हजारदेखि १५ हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था रहेको प्रहरीले जनाएको छ।


Read Previous

मंसीर ५ र ६ गते नास-आईटी एक्स्पो हुने, ३० भन्दा बढी कम्पनी सहभागी, स्टार्टअपका लागि छुट्टै प्याभिलियन

Read Next

सार्क पर्यटन समितिको संयोजकमा चन्द्र ढकाल चयन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar