
काठमाडौं। डोल्पामा निर्माणाधीन जगदुल्ला जलविद्युत् परियोजनाले विद्युत् उत्पादनसँगै कर्णाली प्रदेशको आर्थिक, सामाजिक र पूर्वाधार विकासमा महत्वपूर्ण योगदान पुर्याइरहेको जगदुल्ला हाइड्रोपावर कम्पनीका प्रमुख कार्यकारी अधिकृत सञ्जय सापकोटाले बताएका छन्।
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयको ‘जनताको जलविद्युत् कार्यक्रम’ अन्तर्गत सरकारी स्वामित्व, स्थानीय सहभागिता र स्वदेशी वित्तीय स्रोतको संयोजनमा अघि बढाइएको यो आयोजना नेपालकै नमूना जलविद्युत् परियोजनाका रूपमा विकास भइरहेको उनले बताए।
सापकोटाका अनुसार कम्पनीले डोल्पाको जगदुल्ला र मुड्केचुला गाउँपालिका क्षेत्रमा दुई अर्ध–जलाशययुक्त आयोजना निर्माण गरिरहेको छ। जगदुल्ला जलविद्युत् आयोजनाबाट १०६ मेगावाट र जगदुल्ला–ए आयोजनाबाट १२४.३५ मेगावाट गरी कुल २३०.३५ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको छ।

उनले आयोजना केवल विद्युत् उत्पादनमा सीमित नभई डोल्पाको विकासको आधारसमेत बनेको बताए। कम्पनीले आफ्नै लगानीमा भेरी नदीमाथि १०० मिटर लामो पक्की पुल निर्माण गरेको, त्रिवेणी–मुड्केचुला–जगदुल्ला सडकखण्डको कठिन भिरमा ट्र्याक खोलेको तथा पहुँच मार्गमा १० वटा बेली ब्रिज जडान गरेको उनले जानकारी दिए।
“यी पूर्वाधार आयोजनाका लागि मात्रै नभई स्थानीय समुदायका लागि पनि दीर्घकालीन सम्पत्ति बनेका छन्,” सापकोटाले भने, “पहिले घण्टौं पैदल हिँड्नुपर्ने अवस्था अहिले अन्त्य भएको छ भने यातायात पहुँच उल्लेखनीय रूपमा सहज बनेको छ।”
उनका अनुसार केही वर्षअघिसम्म नेपालगञ्जबाट डोल्पा पुग्न तीन दिनभन्दा बढी समय लाग्ने र वर्षायाममा आवागमन प्रायः अवरुद्ध हुने अवस्था थियो। अहिले भने एकै दिनमै यात्रा सम्भव भएको छ। डोल्पाको सदरमुकाम दुनैबाट काठमाडौंसम्म रात्रिबस सञ्चालन हुने वातावरणसमेत तयार भएको उनले बताए।
परियोजनाले पर्यटन क्षेत्रमा पनि दीर्घकालीन प्रभाव पार्ने अपेक्षा गरिएको छ। रारा ताल, शे–फोक्सुण्डो ताल, जगदुल्ला ताल, उपल्लो डोल्पा, जुम्ला र मुगुसम्म पुग्ने वैकल्पिक तथा छोटो सडक मार्ग विकास हुन थालेपछि कर्णाली प्रदेशको पर्यटन सम्भावना थप विस्तार हुने विश्वास गरिएको छ।

आर्थिक रूपमा पनि परियोजनाले सरकारका तीनै तहलाई लाभ पुर्याउने अपेक्षा छ। आयोजना सञ्चालनमा आएपछि संघीय सरकारले वार्षिक करिब १९ करोड ५० लाख रुपैयाँ तथा प्रदेश सरकार र स्थानीय तहले जनही करिब ९ करोड ५० लाख रुपैयाँ रोयल्टी प्राप्त गर्ने अनुमान गरिएको छ।
हाल १०६ मेगावाट क्षमताको मुख्य आयोजनाको विस्तृत इन्जिनियरिङ अध्ययन, वातावरणीय प्रभाव मूल्याङ्कन, जग्गा अधिग्रहण, विद्युत् खरिद–बिक्री सम्झौता (पीपीए), वित्तीय व्यवस्थापन, उत्पादन अनुमतिपत्र तथा उद्योग दर्तालगायतका सबै तयारी पूरा भइसकेका छन्। मुख्य निर्माण कम्पनीसँग २०८२ साउन २६ गते सम्झौता भएपछि आयोजनाको भौतिक निर्माण कार्य औपचारिक रूपमा अगाडि बढेको हो।
त्यसैगरी १२४.३५ मेगावाट क्षमताको जगदुल्ला–ए आयोजनाको विस्तृत इन्जिनियरिङ अध्ययन सम्पन्न भइसकेको छ भने वातावरणीय अध्ययन, जग्गा अधिग्रहण, पीपीए, वित्तीय व्यवस्थापन र अनुमतिपत्र सम्बन्धी प्रक्रिया अन्तिम चरणमा पुगेको कम्पनीले जनाएको छ।
नेपाल विद्युत् प्राधिकरणको परामर्शदाता एनईए इन्जिनियरिङ कम्पनीमार्फत नेपाली इन्जिनियरहरूले सर्वेक्षण, डिजाइन र लागत अनुमान तयार गरेको यो आयोजना सरकारी निकायहरूको बहुमत स्वामित्वमा निर्माण हुन लागेको पहिलो जलविद्युत् परियोजना मानिएको छ।

कम्पनीको शेयर संरचनाअनुसार सरकारी निकाय, कर्णाली प्रदेश सरकार तथा स्थानीय तहको संयुक्त ५१ प्रतिशत र सर्वसाधारणको ४९ प्रतिशत स्वामित्व रहनेछ। साथै स्थानीय बासिन्दाका लागि १० प्रतिशत शेयर छुट्याइएको छ भने प्रसारण लाइनको ‘राइट अफ वे’ भित्र पर्ने जग्गाधनीलाई थप ३ प्रतिशत शेयर उपलब्ध गराइने व्यवस्था गरिएको छ। कम्पनीका अनुसार यस्तो मोडेल नेपालमा पहिलोपटक कार्यान्वयन गर्न लागिएको हो।
परियोजनाका लागि आवश्यक करिब १६ अर्ब ६६ करोड रुपैयाँ ऋण लगानी पूर्ण रूपमा स्वदेशी बैंक तथा वित्तीय संस्थाबाट जुटाइएको छ। यसमा नबिल बैंक, कर्मचारी सञ्चय कोष, एचआईडीसीएल, लक्ष्मी सनराइज बैंक, एभरेस्ट बैंक र एनआईसी एशिया बैंक सहभागी रहेका छन्।
प्रमुख कार्यकारी अधिकृत सापकोटाले जगदुल्ला जलविद्युत् परियोजना केवल विद्युत् उत्पादन गर्ने आयोजना नभई कर्णालीको आर्थिक रूपान्तरण, पूर्वाधार विस्तार, पर्यटन प्रवर्द्धन र स्थानीय जनताको जीवनस्तर सुधार गर्ने दीर्घकालीन विकास अभियानका रूपमा स्थापित हुने विश्वास व्यक्त गरे।
