Nepal Purbadhar

इप्पानमा २ जना मनोनयन, उद्यमीलाई एकताबद्ध बनाएर ऊर्जा क्षेत्रका मुद्दा सशक्त रूपमा उठाइने


काठमाडौं। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)को नवगठित कार्यसमितिको पहिलो बैठकले ऊर्जा क्षेत्रका साझा मुद्दा समाधानका लागि उद्यमीहरूलाई एकताबद्ध बनाउँदै विभिन्न विषयगत समिति र विज्ञ समूहमार्फत सक्रिय रूपमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेको छ।

इप्पानको २४औँ वार्षिक साधारणसभा तथा आठौँ अधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिको पहिलो बैठक शुक्रबार काठमाडौंमा बसेको हो। बैठकलाई सम्बोधन गर्दै अध्यक्ष मोहनकुमार डाँगीले ऊर्जा क्षेत्रका चुनौती र नीतिगत समस्याहरू समाधान गर्न संस्थागत रूपमा थप सशक्त भूमिका खेलिने बताए।

उनले ऊर्जा उद्यमीहरूको एकता नै क्षेत्रको विकास र समस्या समाधानको प्रमुख आधार भएकाले विभिन्न समितिहरू तथा विज्ञ–विशेषज्ञहरूको समूह गठन गरेर इप्पानलाई थप प्रभावकारी बनाइने बताए। अध्यक्ष डाँगीले कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूलाई संस्थाको उद्देश्यअनुसार सक्रिय रूपमा काम गर्न आग्रह गरे।

बैठकले इप्पानका संस्थापक अध्यक्ष स्वर्गीय प्रभाकर शम्शेर जंगबहादुर राणासहित संस्थापकहरूको योगदानको स्मरण गर्दै संस्थाको विकासमा उनीहरूले पुर्‍याएको योगदान स्मरण गरेको छ।

साथै, २४औँ वार्षिक साधारणसभा तथा आठौँ अधिवेशन सफल बनाउन सहयोग गर्ने निवर्तमान अध्यक्षसहित पूर्व पदाधिकारी, कार्यसमिति सदस्य, इप्पानका सदस्य, निर्वाचन समिति, सचिवालयका कर्मचारी, सञ्चारकर्मी तथा सुरक्षाकर्मीप्रति धन्यवाद ज्ञापन गर्ने निर्णय पनि बैठकले गरेको छ।

बैठकमा नवनिर्वाचित पदाधिकारी र कार्यसमिति सदस्यहरूबीच परिचयात्मक कार्यक्रमसमेत आयोजना गरिएको थियो। कार्यक्रममा सहभागीहरूले आफ्नो व्यावसायिक अनुभव, संस्थागत संलग्नता र भावी कार्ययोजनाबारे धारणा आदानप्रदान गरेका थिए।

इप्पानले निवर्तमान अध्यक्ष गणेश कार्कीलाई प्रमुख सल्लाहकार तथा संस्थाका पूर्व उपाध्यक्ष रामप्रसाद आचार्यलाई एसोसिएट सदस्यका रूपमा मनोनयन गर्ने निर्णयसमेत गरेको छ।

ऊर्जा उत्पादनमा संलग्न उद्यमीहरूको छाता संस्था इप्पानको स्थापना २६ वर्षअघि भएको हो। हाल संस्थामा करिब ७ सय ऊर्जा उत्पादक कम्पनी आबद्ध छन्। ऊर्जा क्षेत्रका नीतिगत, प्रशासनिक तथा नियामकीय समस्याको समाधानका लागि सरोकारवाला निकायसँग समन्वय र पहल गर्दै आएको इप्पानले निजी क्षेत्रको ऊर्जा विकासमा महत्वपूर्ण भूमिका खेल्दै आएको छ।

गत जेठ २९ गते सम्पन्न अधिवेशनबाट मोहनकुमार डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको थियो भने जेठ ३१ गते शपथग्रहण, प्रमाणपत्र वितरण तथा पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको थियो।


Read Previous

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

Read Next

मन्त्रिपरिषद्का निर्णय: धितोपत्र बोर्डमा गोपालप्रसाद भट्ट नियुक्त, के के भए निर्णय?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar