
काठमाडौं। नेपाल सरकार मन्त्रिपरिषद्ले नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्षमा डा. गोपालप्रसाद भट्टलाई नियुक्त गर्ने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले वित्तीय क्षेत्र, सहकारी, सार्वजनिक खरिद तथा राष्ट्रिय सेवासम्बन्धी विभिन्न कानुन संशोधन प्रक्रिया अघि बढाउने निर्णय गरेको छ।
सरकारले नेपाल विशेष सेवा ऐन, २०४२ को साबिकको व्यवस्था पुनःस्थापना गर्ने सम्बन्धी विधेयक संघीय संसद्मा पेस गर्न स्वीकृति दिएको छ। साथै राष्ट्रिय सेवा दलसम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयक पनि संसद्मा पेस गर्ने निर्णय गरिएको छ।
बैठकले सहकारी क्षेत्रको सुधार र प्रभावकारी नियमनका लागि सहकारीसम्बन्धी प्रचलित कानुनलाई संशोधन तथा एकीकरण गर्न विधेयक तर्जुमाको सैद्धान्तिक स्वीकृति दिएको छ। त्यस्तै, बचत तथा ऋण सहकारी संस्थाको नियमन र सुपरिवेक्षणलाई व्यवस्थित गर्न नयाँ कानुनी व्यवस्था ल्याउने तयारीस्वरूप सम्बन्धित विधेयक तर्जुमाको सिद्धान्त पनि स्वीकृत गरिएको छ।
मन्त्रिपरिषद्ले सहकारी ऐन, २०७४ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसद्मा पेस गर्न स्वीकृति दिएको छ। यससँगै सार्वजनिक खरिद ऐन, २०६३ र सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ लाई संशोधन गर्न बनेका विधेयकहरू पनि संसद्मा लैजाने निर्णय गरिएको छ।
त्यसैगरी स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी नेपाल ऐन संशोधन गर्न बनेको विधेयक पनि संघीय संसद्मा पेस गर्न स्वीकृति प्रदान गरिएको छ।
