
काठमाडौँ। देशभरका भूमि प्रशासन कार्यालयहरूले गत जेठ महिनामा घरजग्गा कारोबारबाट पाँच अर्ब २४ करोड ४२ लाख ५१ हजार १०१ रुपैयाँ राजस्व संकलन गरेका छन्। भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार देशभर सञ्चालित १३८ भूमि प्रशासन कार्यालयमार्फत सेवा शुल्क, रजिष्ट्रेसन दस्तुर तथा पुँजीगत लाभकरबापत उक्त राजस्व संकलन भएको हो।
विभागका तथ्याङ्कअनुसार सेवा शुल्कबाट २८ करोड ६६ लाख ३२ हजार ५६० रुपैयाँ, रजिष्ट्रेसन दस्तुरबाट दुई अर्ब ७८ करोड ५१ लाख १६ हजार २२६ रुपैयाँ तथा पुँजीगत लाभकरबाट दुई अर्ब १२ करोड ३१ लाख ४२ हजार ६४४ रुपैयाँ राजस्व प्राप्त भएको छ।
राजस्व संकलनका हिसाबले भूमि प्रशासन कार्यालय डिल्लीबजार अग्रस्थानमा रहेको छ। उक्त कार्यालयले जेठ महिनामा ३४ करोड ४४ हजार रुपैयाँ राजस्व संकलन गरेको छ। त्यसपछि चाबहिल कार्यालयले ३१ करोड ४२ लाख १९ हजार रुपैयाँ र टोखा कार्यालयले १० करोड ९९ लाख २३ हजार रुपैयाँ राजस्व संकलन गरेका छन्।
तथ्याङ्कअनुसार जेठ महिनामा घरजग्गा कारोबारबाट प्राप्त राजस्व अघिल्लो महिनाको तुलनामा घटेको देखिएको छ। गत वैशाखमा देशभरका मालपोत कार्यालयहरूले छ अर्ब २६ करोड ३८ लाख २९ हजार ८७३ रुपैयाँ राजस्व संकलन गरेका थिए।
त्यसअघि चैत महिनामा छ अर्ब १६ करोड ५७ लाख ५० हजार ११७ रुपैयाँ, फागुनमा चार अर्ब १४ करोड ९५ लाख ४८ हजार ९३२ रुपैयाँ तथा माघमा पाँच अर्ब ९९ लाख २४ हजार ५३६ रुपैयाँ राजस्व संकलन भएको विभागले जनाएको छ।
घरजग्गा कारोबारको अवस्थासँगै राजस्व संकलनमा उतारचढाव देखिए पनि भूमि प्रशासन कार्यालयहरू राजस्व संकलनका प्रमुख स्रोतका रूपमा रहँदै आएका छन्।
कारोबार घट्यो
विभागको तथ्यांक अनुसार गत बैशाख महिनाको तुलनामा पछिल्लो जेठ महिनामा घरजग्गा कारोबार झन्डै ४ हजारले घटेको छ। गत जेठ महिनामा १ लाख ४८ हजार ७६३ ओटा जग्गा सम्बन्धी कारोबार गरेको छ जसमा लिखत मात्रै ५४ हजार ७२४ ओटा लिखत पारित भएका छन् ।
विभागका अनुसार गत बैशाखमा १ लाख ६९ हजार ८३८ ओटा विभिन्न कारोबार हुँदा ५८ हजार ८८६ ओटा लिखत पारित भएका थिए। विभागले गुठी अधीनस्थ जग्गासम्बन्धी लिखत पारित, नामसारी र दाखिल खारेज, मोही हक कायम, मोहीयानी हक नामसारी, स्रेस्ता एकीकरण तथा आयोजना फिर्तासम्बन्धी कार्य लगायतका कार्यहरू गर्दै आएको छ।
सबैभन्दा धेरै कारोबार गर्ने १० कार्यालय
| भूमि प्रशासन कार्यालय इनरुवा, सुनसरी | 2154 |
| भूमि प्रशासन कार्यालय भद्रपुर, झापा | 2043 |
| भूमि प्रशासन कार्यालय बेलवारी, मोरङ | 1836 |
| भूमि प्रशासन कार्यालय जनकपुरधाम, धनुषा | 1697 |
| भूमि प्रशासन कार्यालय धनगढी, कैलाली | 1690 |
| भूमि प्रशासन कार्यालय तुलसीपुर, दाङ | 1541 |
| भूमि प्रशासन कार्यालय, कोहलपुर | 1462 |
| भूमि प्रशासन कार्यालय घोराही, दाङ | 1281 |
| भूमि प्रशासन कार्यालय राजविराज, सप्तरी | 1246 |
| भूमि प्रशासन कार्यालय भक्तपुर | 1224 |
