Nepal Purbadhar

भोटेकोशी बाढी : ३४ देशका करिब ५९० विदेशी अझै बेपत्ता, ३०० भन्दा बढीको उद्धार

default


काठमाडौं । भोटेकोशी बाढीपछि ३४ देशका करिब ५९० जना विदेशी नागरिक अझै सम्पर्कविहीन रहेका छन्। परराष्ट्र मन्त्रालयका अनुसार बाढी प्रभावित क्षेत्रबाट ११ हजार ९९३ जनाको उद्धार भइसकेको छ, जसमा ३०० भन्दा बढी विदेशी नागरिक छन्।

बेपत्ता विदेशी नागरिकको खोजी तथा उनीहरूका परिवारसँग समन्वयका लागि परराष्ट्र मन्त्रालयले छुट्टै आपत्कालीन नियन्त्रण कक्ष (इमर्जेन्सी कन्ट्रोल रुम) सञ्चालन गरिरहेको छ। सम्बन्धित देशका कूटनीतिक नियोग र बेपत्ता नागरिकका परिवारसँग निरन्तर सम्पर्क तथा सूचना आदानप्रदान भइरहेको मन्त्रालयले जनाएको छ।

बाढीपछि विदेशी नागरिकको खोजी तथा उद्धारमा भारत, चीन र दक्षिण कोरियालगायतका प्राविधिक तथा फरेन्सिक टोली पनि परिचालन भएका छन्। विशेषगरी जलविद्युत् आयोजनाका सुरुङमा फसेका व्यक्तिको खोजी तथा उद्धारमा विदेशी विशेषज्ञ टोलीले नेपाली सुरक्षाकर्मीसँग सहकार्य गरिरहेका छन्।

यसअघि मन्त्रालयले सार्वजनिक गरेको विवरणमा अष्ट्रेलिया, क्यानडा, चीन, भारत, मलेसिया, युक्रेन, बेलायत, अमेरिका, दक्षिण कोरिया लगायत विभिन्न देशका नागरिक प्रभावित क्षेत्रमा बेपत्ता रहेको उल्लेख थियो। पछिल्लो विवरणअनुसार संख्या निरन्तर अद्यावधिक भइरहेको छ।

मन्त्रालयले बेपत्ता व्यक्तिबारे आधिकारिक रूपमा पुष्टि नभएका सूचना सार्वजनिक नगर्न र खोजी तथा उद्धारसम्बन्धी जानकारी आधिकारिक स्रोतबाट मात्रै लिन आग्रह गरेको छ।


Read Previous

१९ केजीको ग्यास सिलिन्डर बनाउने मन्त्रीको प्रस्ताव, होटलका लागि आफै ढुवानी गर्न आग्रह

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar