Nepal Purbadhar

चिलिमेमा मानवीय क्षतिले मर्माहत छु : कुलमान घिसिङ


काठमाडौं । पूर्व मन्त्री तथा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले रसुवाको चिलिमे जलविद्युत् केन्द्रमा बाढीका कारण भूमिगत विद्युत्गृहमा थुनिएका कर्मचारीको उद्धारका क्रममा नेपाली सेनालाई आवश्यक प्राविधिक सुझाव तथा सहजीकरण गरेको बताएका छन्।

भोटेकोशी नदीमा आएको प्रलयकारी बाढीका समयमा स्याफ्रुबेसीस्थित २२ मेगावाट क्षमताको चिलिमे जलविद्युत् केन्द्रको भूमिगत विद्युत्गृहमा ड्युटीमा रहेका कर्मचारीहरू मुख्य पहुँच सुरुङ अवरुद्ध भएपछि विद्युत्गृहभित्रै थुनिएका थिए। पहुँच सुरुङ अवरुद्ध भएपछि उनीहरू बाहिरी सम्पर्क र उद्धारको पहुँचबाट समेत टाढिएका थिए।

चिलिमे जलविद्युत् केन्द्रसँग विगतमा प्राविधिक तथा व्यवस्थापकीय रूपमा जोडिएका कारण आफू विद्युत्गृहका संरचना र अवस्थाबारे परिचित रहेको घिसिङले बताएका छन्। विकट भूगोल, हेलिकप्टरबाट समेत ठूला सामान लैजान कठिनाइ, बाढीबाट भएको व्यापक क्षति र मुख्य पहुँच मार्ग नै अवरुद्ध भएका कारण उद्धारमा कठिनाइ भएको उनको भनाइ छ।

समयमै उद्धारमा देखिएको कठिनाइका कारण अमूल्य मानवीय क्षति हुन पुगेको दुःखद घटनाले आफूलाई अत्यन्तै मर्माहत बनाएको घिसिङले बताएका छन्।

बाढीपछि रसुवा सदरमुकाम धुन्चे पुगेर प्रभावित क्षेत्रको अवस्थाबारे जानकारी लिने क्रममा रसुवागढी, चिलिमे, माथिल्लो त्रिशूली–१ लगायतका जलविद्युत् आयोजनामा उद्धार कार्यलाई थप तीव्रता दिन सम्बन्धित निकायको ध्यानाकर्षण गराएको उनले बताएका छन्।

त्यसपछि प्रधानमन्त्रीलाई समेत खोज, उद्धार तथा राहतका कार्यलाई थप प्रभावकारी बनाउन आग्रह गर्दै आवश्यक सहयोगका लागि आफू तयार रहेको जानकारी गराएको घिसिङको भनाइ छ।

‘यस्ता विपद्का घटनामा व्यक्तिगत भूमिका भन्दा पनि प्रभावित नागरिकको जीवनरक्षा, शीघ्र खोज तथा उद्धार र राज्यका सबै संयन्त्रको प्रभावकारी परिचालन नै सबैभन्दा महत्वपूर्ण विषय हो,’ घिसिङले भनेका छन्।

उनले कार्यस्थलमै अचानक आएको विपद्मा परी ज्यान गुमाएका चिलिमे जलविद्युत् केन्द्रका कर्मचारीप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गरेका छन्।

घिसिङले विपद्को कठिन परिस्थितिमा खोज तथा उद्धारमा अहोरात्र खटिएका नेपाली सेना, भारतीय सेनाका विज्ञ टोली, नेपाल प्रहरी, चिलिमे कम्पनीका व्यवस्थापन तथा कर्मचारीसहित सम्पूर्ण उद्धारकर्मी र सहयोगीप्रति धन्यवाद व्यक्त गरेका छन्।

‘विपद्को समयमा ज्यानको जोखिम मोलेर उद्धारमा खटिने सबैप्रति सम्मान छ। दिवंगत कर्मचारी साथीहरूको योगदान र सम्झना सदैव जीवित रहनेछ,’ घिसिङले भनेका छन्। सेनाले चिलिमेको सुरुङबाट ती जनाको शव निकालेको छ ।


Read Previous

भोटेकोशी बाढीपीडितलाई विद्युत् महसुल र मिटरमा सहुलियत दिइने

Read Next

चिलिमेको सुरुङको अन्तिम किनारासम्म पुग्यो गोताखोर टोली, तीन शव फेला

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar