
धादिङ। कुनैबेला पृथ्वी राजमार्गमा यात्रा गर्नेका लागि कृष्णभीर सबैभन्दा ठूलो चिन्ताको ठाउँ थियो। पटकपटक पहिरो खस्ने र घण्टौँदेखि दिनौँसम्म सडक अवरुद्ध हुने कृष्णभीरको समस्या फेरि बल्झिएको छ। पहिरो नियन्त्रणका लागि २०६० सालमा निर्माण गरिएका संरचनाको आयु सकिएपछि त्रिशूली नदीको कटानसँगै कृष्णभीरमा ठूलो पहिरो खसेको हो।

भोटेकोशी नदीमा आएको बाढीका कारण त्रिशूली नदीको बहाव बढेपछि गत भदौ १४ गते नदी किनारबाटै जमिन भासिएर कृष्णभीरमा पहिरो खसेको थियो। पहिरोका कारण पृथ्वी राजमार्गको मुग्लिन-नौबिसे खण्ड तीन दिनदेखि अवरुद्ध छ।
सडक अवरुद्ध हुँदा काठमाडौँ, धादिङ हुँदै चितवन, तनहुँ, कास्की तथा पश्चिम नेपालका विभिन्न जिल्लातर्फ जाने र आउने सवारीसाधन प्रभावित भएका छन्।
कृष्णभीरमा पहिरो खस्नु नयाँ समस्या भने होइन। २०५५ देखि २०६० सालको बीचमा यस क्षेत्रमा पटकपटक पहिरो खस्दा यात्रुले लामो समय सास्ती खेप्नुपरेको थियो। २०५० को दशकको अन्तिमतिर खसेको पहिरोका कारण यात्रुले करिब दुई सातासम्म आवागमनको समस्या भोगेका थिए।

त्यस समय कृष्णभीरको पहिरो यति चर्चित थियो कि यसैलाई आधार बनाएर गीतसमेत बनेका थिए। २०६० सालमा प्रदर्शन भएको दिलीप रायमाझी र झरना थापा अभिनित चलचित्र ‘इन्द्रेणी’मा ‘झर्यो, झर्यो, झर्यो कृष्णभीर…’ बोलको गीत समावेश गरिएको थियो। शम्भुजीत बास्कोटा र रमाना श्रेष्ठको स्वर रहेको उक्त गीतले तत्कालीन कृष्णभीरको अवस्थालाई चित्रण गरेको थियो।
त्यसैगरी ‘कृष्णभीरको पहिरोले माया आउने बाटो छेकियो’ बोलको गीत पनि बनेको थियो। कृष्ण देवकोटा, दुर्गा रायमाझी र शर्मिला गुरुङले गाएको उक्त गीतमा कृष्णभीरकै पहिरो र त्यसले यात्रामा पार्ने समस्यालाई समेटिएको थियो। ‘कृष्णभीरमा जाम’ बोलको गीत पनि यसै समस्यासँग जोडिएको छ।

२०६० मा बनेका संरचनाको आयु सकियो
कृष्णभीरमा पहिरो नियन्त्रणका लागि २०६० सालमा पर्खाल तथा अन्य संरचना निर्माण गरिएको थियो। ती संरचनाको डिजाइन आयु २० वर्ष निर्धारण गरिएको थियो। अहिले उक्त अवधि सकिएपछि कृष्णभीरमा फेरि पहिरोको पुरानै समस्या देखिएको हो।
यसपटक भने नदीले सडकको तलैबाट जमिन कटान गरेकाले पहिरो खसेको छ। पहिरो खसेकै स्थानबाट सडक तत्काल पुनःनिर्माण गरेर सञ्चालनमा ल्याउन चुनौती देखिएको छ। भौगोलिक अवस्था र नदीको कटानका कारण कृष्णभीरको समस्या तत्काल सडक मर्मत गरेर मात्र दीर्घकालीन रूपमा समाधान नहुने विज्ञहरूको धारणा छ।

प्रधानमन्त्री बालेन्द्र शाहले बुधबार प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै कृष्णभीरको सडक मर्मत गरेर भदौभित्रै सञ्चालनमा ल्याउने दाबी गरेका छन्। तर, कृष्णभीरको भौगोलिक बनावट र नदी कटानको जोखिमलाई हेर्दा दीर्घकालीन समाधान खोज्नुपर्ने देखिन्छ।
कतिपय प्राविधिकले कृष्णभीरको जोखिमयुक्त खण्डलाई छाडेर वैकल्पिक रुट निर्माण गरी प्रयोग गर्नुपर्ने सुझावसमेत दिएका छन्। तत्काल सडक सञ्चालनमा ल्याउनेसँगै भविष्यमा पटकपटक हुने पहिरो र सडक अवरोधको समस्या समाधान गर्न दीर्घकालीन विकल्प खोज्नुपर्ने देखिएको छ।








तस्बिर : प्रकाशचन्द्र तिमिल्सेना/नेपाल फोटो लाइब्रेरी
