Nepal Purbadhar

भोटेकोशी र त्रिशूलीको बाढी: चिलिमेबाट २१औँ दिन सुरुङबाट पाँच शव निकालियो

default


काठमाडौं। भोटेकोशी र त्रिशूली नदीमा आएको भीषण बाढीबाट यस क्षेत्रमा सञ्चालित तथा निर्माणाधीन १२ ओटा जलविद्युत् आयोजना प्रभावित भएका छन्। बाढीबाट कुल ६६९ मेगावाट क्षमताका ८ सञ्चालनमा रहेका र ४ निर्माणाधीन आयोजना प्रभावित भएको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले जनाएको छ।

इप्पानका अनुसार बाढीका कारण ११ ओटा आयोजनाका ८५८ जना अझै सम्पर्कविहीन छन्। उनीहरूको खोजी तथा उद्धार कार्य जारी रहेको छ।

माथिल्लो त्रिशूली-१ मा ठूलो क्षति

रसुवामा बाढीबाट प्रभावित आयोजनामध्ये २१६ मेगावाटको माथिल्लो त्रिशूली-१ मा ठूलो क्षति पुगेको छ। आयोजनास्थलमा कार्यरत १ हजार ४३३ जनामध्ये ८७८ जनाको उद्धार गरिएको छ।

बुधबार अडिट-३ सुरुङको लेदो हटाउने क्रममा थप पाँच ओटा शव फेला परेका छन्। यससँगै आयोजनास्थलमा फेला परेका मृतकको संख्या १५ पुगेको छ भने अझै ४९२ जना सम्पर्कविहीन रहेको इप्पानको विवरणमा उल्लेख छ।

चिलिमेमा बाढी आएको २१औँ दिन सुरुङबाट पाँच शव निकालियो

२२ मेगावाटको चिलिमे जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका पाँच जनाको शव बाढी आएको २१औँ दिनमा निकालिएको छ।

नेपाली सेना, भारतीय सेना र गोताखोरसहितको संयुक्त टोलीले सुरुङभित्रबाट शव बाहिर निकालेको हो।

त्यस्तै, १११ मेगावाटको रसुवागढी जलविद्युत् आयोजनामा ९३ जना सम्पर्कविहीन छन् भने ७ जनाको सकुशल उद्धार गरिएको छ।

अन्य आयोजना पनि प्रभावित

बाढीबाट १२० मेगावाटको रसुवा-भोटेकोशी, २० मेगावाटको लाङटाङ खोला र ५ मेगावाटको मैलुङ खोला जलविद्युत् आयोजना पनि प्रभावित भएका छन्।

नेपाल विद्युत् प्राधिकरणका त्रिशूली २४ मेगावाट, देवीघाट १४ दशमलव १ मेगावाट र माथिल्लो त्रिशूली-३ए ६० मेगावाट आयोजनासमेत बाढीबाट प्रभावित भएका छन्।

त्यस्तै, निर्माणाधीन माथिल्लो त्रिशूली-३बी ३७ मेगावाट र मिडल त्रिशूली गंगा १५ दशमलव ६ मेगावाट आयोजनामा पनि क्षति पुगेको छ। माथिल्लो त्रिशूली-३बीका १७८ जना र माथिल्लो त्रिशूली-३एका ३९ जना कर्मचारी तथा श्रमिक अझै सम्पर्कविहीन रहेको प्रतिवेदनमा उल्लेख छ।

बाढीका कारण आयोजनासम्म पुग्ने भौतिक पहुँच मार्गसमेत ध्वस्त भएका छन्। पहुँचमा समस्या भएपछि हेलिकप्टर र भारी उपकरण प्रयोग गरी सुरुङ तथा क्याम्पसाइटमा उत्खनन र खोजी कार्यलाई तीव्रता दिइएको छ।


Read Previous

प्रतिनिधिसभा नियमावलीका दुई विवादित व्यवस्था कार्यान्वयन नगर्नू-सर्वोच्च

Read Next

भोटेकोशी प्रभावित जलविद्युत् आयोजनाका लागि विशेष प्याकेज घोषणा गर्न इप्पानको माग

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar