Nepal Purbadhar

चामे-बेँसीसहर सडक पहिरोका कारण अवरुद्ध


मनाङ। हिमाली जिल्ला मनाङको लाइफलाइन मानिएको चामे-बेँसीसहर सडक पहिरो खसेपछि पूर्ण रूपमा अवरुद्ध भएको छ।

नासो गाउँपालिका-३ खोत्रोमा मंगलबार ढुंगासहित पहिरो खसेपछि सडक अवरुद्ध भएको हो। पहिरो हटाउन दिनभर प्रयास गरिए पनि चट्टानसहितको पहिरो भएकाले सडक खुलाउन नसकिएको सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पौडेलले बताए।

उनका अनुसार माथिबाट चट्टानसहित पहिरो सडकमा खसेकाले सामान्य उपकरणबाट हटाउन कठिन भएको छ। नेपाली सेनालगायत सुरक्षाकर्मीको सहयोगमा विष्फोटक पदार्थ प्रयोग गरेर सडक खुलाउने तयारी भइरहेको उनले बताए।

गण्डकी प्रदेशसभा सदस्य मुनिन्द्रजङ्ग गुरुङले सडक चाँडो सञ्चालनमा ल्याउन आवश्यक रहेको बताए। सडक अवरुद्ध हुँदा पर्यटक बढी प्रभावित भएको उनको भनाइ छ।

अवरुद्ध सडक खुलाउन जिल्ला समन्वय समितिका उपप्रमुख सुरेन्द्र गुरुङसहितको टोली खटिएको छ।

डुम्रे-बेँसीसहर-चामे सडक आयोजनाका इन्जिनियर नवीन विष्टका अनुसार ड्रिलिङ गरेर पहिरो हटाउने काम भइरहेको छ। सडकका अन्य स्थानमा खसेका पहिरो भने हटाइसकिएको उनले बताए।

मस्र्याङ्दी करिडोरअन्तर्गतको सडकमा वर्षायाममा ठूला सवारीसाधन सञ्चालन गर्दा सडक भासिने तथा पहिरोको जोखिम बढ्ने गरेको आयोजनाले जनाएको छ।


Read Previous

बाढी प्रभावितका लागि त्रिभुवन विश्वविद्यालयको ९ करोड २५ लाख सहयोग

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar