
काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाह र नेपाली कम्युनिष्ट पार्टीका नेता वर्षमान पुनबीच भेटवार्ता भएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि भइरहेको खोज तथा उद्धार, उपचार र राहत वितरणका विषयमा छलफल भएको हो।
भेटमा बाढीबाट प्रभावित पूर्वाधारलाई तत्काल पुनः सञ्चालनमा ल्याउने तथा क्षतिग्रस्त संरचनाको पुनःस्थापनाका विषयमा समेत छलफल भएको बताइएको छ।
भोटेकोशी बाढीपछि रसुवा, नुवाकोट, धादिङलगायतका क्षेत्रमा ठूलो क्षति पुगेको छ। बाढीका कारण सडक, पुल, जलविद्युत् आयोजना तथा अन्य भौतिक पूर्वाधारमा क्षति पुगेपछि प्रभावित क्षेत्रको जनजीवनसमेत प्रभावित भएको छ।
प्रधानमन्त्री शाहले यसअघि उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङसँग पनि भेट गरेका थिए। उक्त भेटमा पनि बाढीबाट उत्पन्न परिस्थितिलगायत समसामयिक विषयमा छलफल भएको थियो।


