
default
काठमाडौं। पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याउने तयारी तीव्र पारिएको छ। सडक खुलाउन पहिरो आसपासका रुख कटानको काम सुरु गरिएको छ।
पूर्वाधार विकास मन्त्रालयका अनुसार पहिरोको दुवै छेउबाट १८ जना जनशक्ति परिचालन गरी रुख कटान गर्न थालिएको हो। पहिरो पन्छाउन आवश्यक निर्माण उपकरणसमेत सडकको दुवै छेउमा तयारी अवस्थामा राखिएको मन्त्रालयले जनाएको छ।
रुख कटानको काम सम्पन्न हुनासाथ निर्माण उपकरण परिचालन गरी पहिरो पन्छाउने काम सुरू गरिने मन्त्रालयले जनाएको छ। सडक सञ्चालनलाई प्राथमिकतामा राखेर काम तीव्र गतिमा अघि बढाइएको मन्त्रालयको दाबी छ।
भोटेकोशी नदीमा आएको बाढीपछि त्रिशूली नदीको बहाव बढेर नदी किनारबाटै जमिन भासिँदा कृष्णभीरमा ठूलो पहिरो खसेको थियो। पहिरोका कारण पृथ्वी राजमार्गको उक्त खण्ड अवरुद्ध हुँदा काठमाडौं उपत्यकासहित विभिन्न जिल्लामा आवतजावत प्रभावित भएको छ।
कृष्णभीरको सडक अवरुद्ध भएपछि काठमाडौंको आपूर्ति शृङ्खला समेत प्रभावित भएको छ। उपत्यका आवतजावत गर्ने यात्रुले सास्ती बेहोर्नुपरेको छ भने सडक अवरोधको मौका छोपेर बजारमा कृत्रिम अभाव सिर्जना गर्ने तथा मूल्य बढाउने क्रमसमेत देखिन थालेको छ।
सडक तत्काल सञ्चालनमा ल्याउन पहिरो पन्छाउने कामलाई प्राथमिकता दिइए पनि कृष्णभीरको भौगोलिक जोखिम र नदी कटानका कारण दीर्घकालीन समाधानका लागि थप अध्ययन आवश्यक देखिएको छ।
