Nepal Purbadhar

१९ केजीको ग्यास सिलिन्डर बनाउने मन्त्रीको प्रस्ताव, होटलका लागि आफै ढुवानी गर्न आग्रह


काठमाडौं। उद्योगमन्त्री गौरी यादवले होटल व्यवसायका लागि प्रयोग हुने ग्यास सिलिन्डरको तौल बढाएर १९ केजी पुर्‍याउने प्रस्ताव अघि सारेकी छन्। घरायसी र व्यावसायिक प्रयोजनका लागि छुट्टाछुट्टै ग्यास सिलिन्डरको व्यवस्था गर्न मन्त्रालय र नेपाल आयल निगमले काम अघि बढाएको उनले बताइन्।

बाढीका कारण कृष्णभीरमा सडक अवरुद्ध हुँदा काठमाडौं उपत्यकासहित बागमती प्रदेशका अधिकांश जिल्लामा ग्यास आपूर्ति असहज बनेपछि मन्त्रालयमा होटल व्यवसायीसँग छलफल गर्दै मन्त्री यादवले उपभोक्तालाई पहिलो प्राथमिकतामा राखेर ग्यास आपूर्ति सहज बनाउन सबै पक्षले सहकार्य गर्नुपर्ने बताइन्।

ग्यास आयात तथा ढुवानी प्रभावित भएको अवस्थामा होटल व्यवसायीलाई आवश्यक ग्यास आफैं आयात गर्नसमेत उनले आग्रह गरिन्। त्यसका लागि सुरक्षा लगायत आवश्यक सहजीकरण गर्न सरकार तयार रहेको उनको भनाइ थियो।

मन्त्री यादवले होटल व्यवसाय बन्द गराउने सरकारको कुनै सोच नरहेको स्पष्ट पार्दै देशको अर्थतन्त्र र पर्यटन क्षेत्र चलायमान बनाउन होटल व्यवसायीको महत्वपूर्ण भूमिका रहेको बताइन्। अहिलेको अवस्थामा भने घरायसी उपभोक्तालाई पहिलो प्राथमिकतामा राखेर ग्यास वितरण गर्नुपर्ने उनले बताइन्।

छलफलमा नेपाल आयल निगमका महाप्रबन्धक नागेन्द्र शाहले ग्यास आयात तथा ढुवानी सहज बनाउन होटल व्यवसायीले आफैं सवारीसाधनको व्यवस्था गरेर ढुवानीमा सहयोग गर्न आग्रह गरे।

शाहले होटल प्रयोजनका लागि प्रयोग हुने सिलिन्डरको तौल बढाउने विषयमा समेत छलफल आवश्यक रहेको बताए। भारतबाट आयात हुने ग्यासमा मात्र निर्भरता घटाउन नेपालमा उत्पादित विद्युत्को प्रयोग बढाउनुपर्नेमा उनले जोड दिए। होटलमा ग्यासको विकल्पका रूपमा विद्युतीय चुलोको प्रयोग बढाउनसमेत उनले आग्रह गरे।

होटल संघ नेपालका केन्द्रीय अध्यक्ष विनायक शाहले भने बढी रकम तिरेपछि मात्र ग्यास पाउने अवस्था रहेको भन्दै ग्यासमा कालोबजारी भइरहेको गुनासो गरे। होटल व्यवसायीहरू ग्यासको विकल्पमा विद्युतीय चुलो प्रयोग गर्न तयार रहेको बताउँदै उनले होटललाई पनि उद्योगसरह सहुलियत दरमा विद्युत् उपलब्ध गराउन आग्रह गरे।

होटल प्रयोजनका लागि १९ केजीको ग्यास सिलिन्डर बनाउने विषयमा व्यवस्थापन पक्षलाई व्यवस्थित बनाएर अघि बढे आफूहरूको साथ रहने अध्यक्ष शाहले बताए।

सरकारले घरायसी र व्यावसायिक प्रयोजनका लागि छुट्टाछुट्टै ग्यास सिलिन्डरको व्यवस्था गर्न थालेको भन्दै मन्त्री यादवले आपूर्ति प्रणालीलाई थप व्यवस्थित बनाउने प्रतिबद्धता जनाइन्।


Read Previous

रसुवा बाढी प्रभावितका लागि चीनबाट तेस्रो चरणको राहत सामग्री नेपाल आइपुग्यो

Read Next

भोटेकोशी बाढी : ३४ देशका करिब ५९० विदेशी अझै बेपत्ता, ३०० भन्दा बढीको उद्धार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar