Nepal Purbadhar

होचा तथा गहिरा कजवेका कारण कोशी राजमार्गमा सवारी सञ्चालनमा समस्या


धनकुटा। धनकुटा-हिले सडकखण्डमा निर्माण गरिएका होचा तथा गहिरा कजवेका कारण सवारीसाधन सञ्चालनमा समस्या हुँदै आएको छ।

कजवे पार गर्ने क्रममा होचा तथा बढी भार बोकेका सवारीसाधनको तल्लो भाग ठोक्किने र आवतजावतमा कठिनाइ हुने गरेको हो।

सडक आसपासबाट बग्ने पानी तथा नालीको भेल कटाउन पुल वा कल्भर्टको विकल्पका रूपमा विभिन्न स्थानमा कजवे निर्माण गरिएका थिए। तर, कजवे गहिरो हुँदा सवारीसाधन सञ्चालनमा समस्या देखिएपछि सडक डिभिजन कार्यालय धनकुटाले सुधारको काम अघि बढाएको छ।

चालु आर्थिक वर्षमा धनकुटा र हिलेबीचका सात ओटा कजवे सुधार गर्न लागिएको छ। भेडेटारदेखि हिलेसम्मको करिब ४७ किलोमिटर सडक मर्मत तथा कजवे सुधारको काम सुरू भएको छ। यसका लागि ४ करोड २९ लाख ५९ हजार रुपैयाँमा सम्झौता भएको छ।

सडक डिभिजन कार्यालयकाका अनुसार यसअघि गहिरा रहेका कजवेलाई अब २ दशमलव ०५ प्रतिशत मात्र क्रस स्लोप हुने गरी सुधार गरिनेछ।

यस वर्ष हिलेसम्मका कजवे सुधार गर्ने र आगामी वर्ष हिलेभन्दा माथिका कजवे पनि क्रमशः सुधार गर्दै जाने योजना रहेको कार्यालयले जनाएको छ।

हिले-धनकुटा १३ किलोमिटर सडकखण्डमा मात्रै १० ओटा कजवे छन्। धनकुटादेखि सङ्खुवासभाको टुटेसम्मको करिब ६० किलोमिटर सडकमा दुई दर्जनको हाराहारीमा कजवे रहेका छन्।


Read Previous

चिलिमेको सुरुङको अन्तिम किनारासम्म पुग्यो गोताखोर टोली, तीन शव फेला

Read Next

मन्त्रिपरिषद् बैठकका निर्णय: धितोपत्रमा अग्रिम करको व्यवस्था देखि न्यायाधीश बढुवासम्म

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar