Nepal Purbadhar

बाढी प्रभावित १२ जलविद्युत् आयोजनाका ९७४ जना अझै सम्पर्कविहीन, के गरिरहेको छ प्राधिकरण?


काठमाडौं। भोटेकोशी बाढीबाट प्राधिकरण तथा निजी क्षेत्रका गरी १२ ओटा जलविद्युत् आयोजना प्रभावित भएका छन्। निर्माणाधीन आयोजनाका संरचनासँगै सञ्चालनमा रहेका आयोजनामा समेत क्षति पुगेपछि विद्युत् उत्पादन प्रभावित भएको छ। उत्पादन पुनः सुरू हुन नसकेसम्म विद्युत् निर्यातमा थप दबाब पर्ने देखिएको छ।

बाढीले आयोजनाका संरचनामा क्षति पुर्‍याउनुका साथै त्यहाँ कार्यरत श्रमिक तथा कर्मचारीको खोज तथा उद्धारसमेत जटिल बनाएको छ। प्रभावित १२ ओटा आयोजनामा नेपाली तथा विदेशी कामदारसमेत गरी ९७४ जना अझै सम्पर्कविहीन रहेको विवरण छ।

लाङटाङ जलविद्युत् आयोजनामा विदेशी प्राविधिकसहित २५ जनाको संयुक्त खोज तथा उद्धार टोली सुरुङभित्र प्रवेश गरी खोजीमा जुटेको छ। टोलीले सुरुङभित्र करिब १५० मिटरसम्म प्रवेश गरी दुई स्थानमा साना होल बनाएर फसेका व्यक्तिको अवस्थाबारे जानकारी लिने प्रयास गरिरहेको छ।

चिलिमे हाइड्रोपावरमा पनि विदेशी प्राविधिकसहितको संयुक्त टोली परिचालन गरी खोज तथा उद्धार भइरहेको छ।

त्यस्तै, माथिल्लो त्रिशूली–३ ‘ए’ आयोजनामा ९३ जनाको संयुक्त उद्धार टोली परिचालन गरिएको छ। टोलीले पाँच ओटा एक्स्काभेटर प्रयोग गरी सुरुङको आउटलेटमा भरिएको लेदो, माटो तथा अन्य अवरोध हटाइरहेको छ।

सुरुङको आउटलेटमा रहेको होल साँघुरो भएपछि क्राउन क्षेत्रमा ब्लास्टिङ गरी होल ठूलो बनाउने र सफा गर्ने कामसमेत गरिएको छ। सुरुङभित्र पुगेर सम्भावित रूपमा फसेका व्यक्तिको खोजी गर्न आउटलेट खुलाउने कामलाई प्राथमिकता दिइएको छ।

माथिल्लो त्रिशूली–३ ‘बी’ आयोजनामा पनि नेपाली सेना, गैरसैनिक जनशक्ति र आयोजनाका अधिकारीसहितको संयुक्त टोली परिचालन गरिएको छ। सेनाका ८९, गैरसैनिक तीन तथा आयोजना प्रबन्ध निर्देशकसहितको टोलीले आयोजना कार्यालय तथा आवास क्षेत्रमा पुग्ने बाटो खोल्ने काम गरिरहेको छ।

भारी पहिरो र लेदोका कारण अवरुद्ध क्षेत्रमा एक्स्काभेटर र बुर्कट प्रयोग गरी बाटो बनाउने तथा माटो पन्छाउने काम भइरहेको छ।

बाढी आएको एक साताभन्दा बढी समय बितिसक्दा पनि सुरुङ, भूमिगत विद्युत्गृह, कार्यालय तथा आवास क्षेत्रमा फसेका वा सम्पर्कविहीन व्यक्तिको अवस्था यकिन हुन सकेको छैन।

सरकारले नेपाली सेनाको नेतृत्वमा खोज तथा उद्धार टोली परिचालन गरे पनि भौगोलिक कठिनाइ, पहिरो, लेदो तथा सुरुङभित्र जमेको माटोका कारण उद्धार कार्य जोखिमपूर्ण र जटिल बनेको छ।


Read Previous

रसुवा बाढीपछि बंगलादेश विद्युत् निर्यात रोकियो, भारततर्फ कटौती, पून: उत्पादन अनिश्चत

Read Next

रसुवा बाढी प्रभावितका लागि चीनबाट तेस्रो चरणको राहत सामग्री नेपाल आइपुग्यो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar