Nepal Purbadhar

सुदूरपश्चिम प्रदेशको बजेट ३७ अर्ब ७० करोड


सुदूरपश्चिम। सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ३७ अर्ब ७० करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ। प्रदेशसभाको आइतबार राति ११:४५ बजे बसेको बैठकमा आर्थिक मामिलामन्त्री विक्रमसिंह धामीले बजेट प्रस्तुत गरेका हुन्।

सरकारले आगामी वर्षको खर्च व्यवस्थापनका लागि विभिन्न स्रोतबाट आम्दानी जुटाउने लक्ष्य राखेको छ। बजेटका अनुसार आन्तरिक राजस्वबाट एक अर्ब ७२ करोड रुपैयाँ संकलन हुने अनुमान गरिएको छ भने राजस्व बाँडफाँटमार्फत संघीय सरकारबाट १० अर्ब २४ करोड ९२ लाख ६६ हजार रुपैयाँ प्राप्त हुने अपेक्षा गरिएको छ।

त्यस्तै, संघीय रोयल्टीबाट सात करोड रुपैयाँ, वित्तीय समानीकरण अनुदानबाट नौ अर्ब छ करोड ३३ लाख रुपैयाँ, चालु आर्थिक वर्षको बजेटबाट बचत हुने नौ अर्ब ६२ करोड रुपैयाँ, सशर्त अनुदानबाट छ अर्ब तीन करोड ५८ लाख रुपैयाँ, समपूरक अनुदानबाट ३८ करोड ३८ लाख रुपैयाँ तथा विशेष अनुदानबाट ५२ करोड ७६ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ।

यद्यपि बजेट वक्तव्यमा चालु खर्च र पुँजीगत खर्चतर्फ छुट्याइएको रकमबारे स्पष्ट जानकारी दिइएको छैन।

प्रतिपक्षी दलका सांसदहरूको बहिष्कारका बीच बजेट प्रस्तुत गरिएको थियो। बैठक सुरु हुनासाथ प्रतिपक्षी सांसदहरूले विरोध जनाएका थिए। सभामुख भीमबहादुर भण्डारीले समय दिएपछि प्रदेशसभा सदस्य मानबहादुर धामीले सरकारले समयमै बजेट ल्याउन नसक्नु लाचारीपन भएको टिप्पणी गरेका थिए। त्यसलगत्तै प्रतिपक्षी सांसदहरू बैठक बहिष्कार गरेर बाहिरिएका थिए।

सत्तारुढ दलभित्रै बजेटको बाँडफाँटलाई लिएर सहमति जुट्न नसक्दा बजेट प्रस्तुत गर्न ढिलाइ भएको बताइएको छ। गत आर्थिक वर्ष २०८२/८३ मा प्रदेश सरकारले ३३ अर्ब ४७ करोड ६० लाख ४८ हजार रुपैयाँको बजेट ल्याएको थियो।


Read Previous

विद्युत् प्रसारण आयोजनाबाट प्रभावित वन क्षेत्रमा क्षतिपूर्ति स्वरूप ४५० हेक्टरमा वृक्षरोपण गर्दै एमसीए

Read Next

कर्णालीको बजेट ३५ अर्ब ३९ करोड, स्वास्थ्य क्षेत्रलाई उच्च प्राथमिकता

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar