
फाईल फोटो।
काठमाडौं। बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको धुलिखेलदेखि नमोबुद्धको दाप्चास्थित १ नम्बर पुलसम्मको २०.६ किलोमिटर सडक दुई लेनमा विस्तार हुने भएको छ। सडक विस्तारका लागि ३ अर्ब ७९ करोड ७८ लाख रुपैयाँभन्दा बढीको स्रोत प्रस्ताव भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा पठाइएको छ।
सडक डिभिजन कार्यालय भक्तपुरका अनुसार हाल करिब ५.५ मिटर चौडा रहेको मुख्य कालोपत्रे सडकलाई विस्तार गरी १० मिटरसम्म पुर्याउने योजना छ। यसका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भइसकेको छ भने प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन तयार गर्ने काम अन्तिम चरणमा पुगेको छ।
स्रोत सुनिश्चित भएपछि ठेक्का प्रक्रिया अघि बढाइने र चालु आर्थिक वर्षमै विस्तारको काम सुरू गर्ने लक्ष्य राखिएको कार्यालयले जनाएको छ। निर्माण सुरू भएको तीन वर्षभित्र काम सम्पन्न गर्ने गरी समयसीमा निर्धारण गरिनेछ।
धुलिखेलदेखि भकुण्डेबेँसीसम्म सडक विस्तारका क्रममा रुख कटान तथा केही स्थानमा मोड सुधार गर्न घर संरचना हटाउनुपर्ने भएकाले काम सुरू हुन केही समय लाग्न सक्नेछ। सडक विस्तारपछि सवारीसाधनको गति प्रतिघण्टा ३० किलोमिटरबाट ६० किलोमिटरसम्म पुर्याउने लक्ष्य छ।
यसअघि २०८१ असोजको बाढीपहिरोले भकुण्डेबेँसीदेखि नेपालथोकसम्मको करिब ३० किलोमिटर सडकमा ठूलो क्षति पुर्याएको थियो। क्षतिग्रस्त सडकको स्थायी पुनर्निर्माण चार प्याकेजमा विभाजन गरी अघि बढाइएको छ। धुलिखेलदेखि नेपालथोकसम्मको करिब ५२ किलोमिटर सडक दुई लेनमा विस्तार भएपछि बिपी राजमार्गमा ठूला सवारीसाधनको आवागमन सहज हुने अपेक्षा गरिएको छ।

