
ठमाडौं। मिलेनियम च्यालेञ्ज एकाउण्ट (एमसिए) नेपालले विद्युत् प्रसारण आयोजनाबाट प्रभावित हुने वन क्षेत्रको क्षतिपूर्ति स्वरूप वृक्षरोपण तथा वन व्यवस्थापन कार्य अघि बढाउने भएको छ।
यसका लागि एमसिए नेपालले प्रेरा निर्माण सेवासँग सम्झौता गरेको छ। सम्झौताअनुसार सर्लाहीको ईश्वरपुर नगरपालिका–४ मा रहेको सागरनाथ वन विकास परियोजनाअन्तर्गत ४५० हेक्टर क्षेत्रफलमा वृक्षरोपण तथा वन व्यवस्थापन कार्य सञ्चालन गरिने छ।
एमसिए नेपालका अनुसार उक्त वृक्षरोपण कार्यक्रमले वातावरणीय संरक्षण र दिगो वन व्यवस्थापनमा योगदान पुर्याउने अपेक्षा गरिएको छ।
सागरनाथ वन विकास परियोजनाले सर्लाही, महोत्तरी र रौतहट जिल्लामा फैलिएको करिब १३ हजार ५१२ हेक्टर (झण्डै १३५ वर्ग किलोमिटर) वन क्षेत्र समेटेको छ। यो क्षेत्र महोत्तरीको पूर्व–पश्चिम राजमार्गदेखि दक्षिण, पूर्वमा भव्सी खोला र पश्चिममा बागमती नदीबीचको भूभागमा फैलिएको छ।
आयोजना कार्यान्वयनपछि प्रभावित वन क्षेत्रको पुनर्स्थापना र हरियाली विस्तारमा सहयोग पुग्ने विश्वास गरिएको छ।

