Nepal Purbadhar

३० हजार मेगावाट लक्ष्य हासिल गर्न नीतिगत र कानुनी सुधार आवश्यक : सांसद पराजुली


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद भरत पराजुलीले सरकारले आगामी १० वर्षमा ३० हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य हासिल गर्न नीतिगत, कानुनी र प्रशासनिक झन्झट हटाउने काम भइरहेको बताएका छन्।

इप्पानको २४औँ वार्षिक साधारणसभा तथा ८औँ अधिवेशनमा मन्तव्य दिँदै सांसद पराजुलीले ३० हजार मेगावाटको लक्ष्य केवल ऊर्जा उत्पादन मात्र नभई देशको आर्थिक भविष्यसँग जोडिएको विषय भएको बताए।

“सरकार आगामी १० वर्षमा ३० हजार मेगावाट उत्पादन गर्ने लक्ष्यका साथ अघि बढेको छ,” उनले भने, “यो लक्ष्य केवल उत्पादनको मात्र होइन, आर्थिक भविष्यको पनि आधार हो। यसका लागि नीतिगत, कानुनी र प्रशासनिक झन्झट हटाउने काम भइरहेको छ।”

उनले धेरै ऊर्जा आयोजना जग्गा प्राप्ति, मुआब्जा र वनसम्बन्धी अनुमति प्रक्रियाका कारण प्रभावित भइरहेको उल्लेख गरे। वातावरण संरक्षण आवश्यक भए पनि वन क्षेत्र प्रयोग अनुमति र रुख कटान आदेश लिन वर्षौँ लाग्ने अवस्था लगानीमैत्री नभएको उनले बताए।

सांसद पराजुलीले प्रसारण लाइन निर्माणमा हुने ढिलाइका कारण उत्पादन सम्पन्न भइसकेका आयोजनाहरू पूर्ण क्षमतामा सञ्चालन हुन नसकेको समस्या पनि औँल्याए। यसलाई समाधान गर्न सरकार सक्रिय रहेको उनको भनाइ थियो।

उनले वर्षायाममा उत्पादन हुने अतिरिक्त विद्युत् आन्तरिक खपत र निर्यात बजारको अभाव नयाँ चुनौतीका रूपमा देखिएको बताए। यसका लागि खपत विस्तार र निर्यात पूर्वाधार विकासमा ध्यान दिनुपर्ने उनले जोड दिए।

पराजुलीले ऊर्जा क्षेत्रको विकासका लागि निजी क्षेत्रसँग सहकार्य आवश्यक रहेको उल्लेख गर्दै नीतिगत सुधारमार्फत लगानीमैत्री वातावरण बनाउन सरकार प्रतिबद्ध रहेको बताए।


Read Previous

इतिहास रच्ने अवसर मन्त्री श्रेष्ठलाई, ऊर्जामा नीति कार्यान्वयन र निजी क्षेत्रको भूमिका अझ सुदृढ गर्नु पर्नेछ: कार्की

Read Next

मन्त्रिपरिषद्का निर्णय : रावल आयोगको प्रतिवेदन कार्यान्वयनदेखि नियुक्तिसम्म

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar