
काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेलले ऊर्जा क्षेत्रको विकासका लागि आवश्यक नीतिगत सुधार गर्न सरकार तयार रहेको बताएका छन्।
इप्पानको २४औँ वार्षिक साधारणसभा तथा ८औँ अधिवेशनमा स्वागत मन्तव्य दिँदै गजुरेलले ऊर्जा क्षेत्रसँग सम्बन्धित समस्या र नीतिगत जटिलता समाधान गर्न सरकार छलफल र समन्वयमार्फत अघि बढ्न तयार रहेको बताए।
“नीतिगत तहमा केही सुधार गर्नुपर्ने भए हामीलाई सम्झाउनु होला, ऊर्जा क्षेत्रका समस्या भए जानकारी गराउनु होला,” उनले भने, “हामी छलफल गरेर आवश्यक परे सम्बन्धित निकायलाई निर्देशनसमेत दिन सक्छौं।”
उनले सरकारले ल्याएको नीति तथा कार्यक्रम र बजेट निजी क्षेत्रमैत्री रहेको उल्लेख गर्दै आगामी दिनमा अझ बढी लगानीमैत्री नीति ल्याउने प्रतिबद्धता व्यक्त गरे।
“हामीले निजी लगानीमैत्री बजेट ल्याएका छौं,” उनले भने, “हाम्रो लक्ष्य पूरा गर्न निजी क्षेत्रको भूमिका आवश्यक हुन्छ, त्यसैले आगामी दिनमा हामी अझ निजी क्षेत्रमैत्री बन्दै जानेछौं।”
गजुरेलले ऊर्जा क्षेत्रमा देखिएका समस्या समाधान गर्दै लगानीकर्ताको मनोबल बढाउन सरकार संवेदनशील रहेको पनि बताए। उनले नीतिगत सुधारमार्फत ऊर्जा क्षेत्रलाई तीव्र विकासको दिशामा अघि बढाउने सरकारको लक्ष्य रहेको स्पष्ट पारे।

