Nepal Purbadhar

उत्तम लामा प्यानलद्वारा उम्मेदवार घोषणा, ‘समाधानमुखी र परिणाम दिने इप्पान’ बनाउने प्रतिबद्धता


काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को आगामी निर्वाचनका लागि वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार उत्तम लामाको नेतृत्वमा रहेको प्यानलले विभिन्न पदका उम्मेदवारहरूको टुंगो लगाएको छ। मंगलबार काठमाडौंको ठमेलस्थित होटल एलोफ्टमा आयोजित भेलाबाट प्यानलले सर्वसम्मत रूपमा उम्मेदवार चयन गरेको हो।

भेलामा प्यानलका सदस्य, शुभेच्छुक तथा ऊर्जा क्षेत्रका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। विस्तृत छलफल र परामर्शपछि विभिन्न पदका उम्मेदवारहरू चयन गरिएको जनाइएको छ।

प्यानलले वरिष्ठ उपाध्यक्षमा उत्तम लामा, उपाध्यक्षहरूमा उत्तरकुमार श्रेष्ठ, सुशन कर्माचार्य, हिम पाठक, विक्रम विष्ट र नरेन्द्र बल्लभ पन्तलाई उम्मेदवार बनाएको छ। यस्तै महासचिवमा टीएन आचार्य, उपमहासचिवमा कविता पोखरेल, कोषाध्यक्षमा शंकर बस्याल तथा सचिवहरूमा कुबेरमणि नेपाल, अभिज्ञा मल्ल, ईशा श्रेष्ठ, सुमन जोशी र विजयमोहन भट्टराई रहेका छन्।

उत्तम लामा

कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार उत्तम लामाले सक्षम, उत्तरदायी तथा दूरदर्शी नेतृत्वमार्फत संस्थाको समग्र विकास, सुशासन, पारदर्शिता र सदस्यहरूको हित प्रवर्द्धनमा आफूहरू प्रतिबद्ध रहेको बताए। उनले उम्मेदवारहरू अनुभव, क्षमता, निष्ठा र संस्थाप्रतिको समर्पणका आधारमा छनोट गरिएको उल्लेख गरे।

भेलाले सरकारसँग समन्वय, संस्थाको दिगो विकास, सदस्यहरूको सक्रिय सहभागिता तथा संस्थागत सुदृढीकरणलाई प्राथमिकतामा राख्दै सकारात्मक र मुद्दाकेन्द्रित अभियान सञ्चालन गर्ने निर्णय समेत गरेको छ।

यसै अवसरमा लामाले ‘इप्पान भिजन २०२९’ सार्वजनिक गर्दै आगामी तीन वर्षका लागि संस्थाको स्पष्ट कार्यदिशा प्रस्तुत गरेका छन्। भिजनमा पीपीए सुधार, नीतिगत तथा कानुनी सुधार, लगानी तथा वित्तीय सुधार, प्रसारण तथा पूर्वाधार निर्माणमा तीव्रता, ऊर्जा खपत विस्तार तथा निर्यात प्रवर्द्धन, वन तथा वातावरणीय प्रक्रियामा सरलीकरण, इप्पानलाई नीति अनुसन्धान केन्द्रका रूपमा विकास गर्ने तथा चुस्त र सक्षम संस्थागत व्यवस्थापनलाई प्राथमिकतामा राखिएको छ।

भिजनअन्तर्गत हाल रोकिएका १२ हजार मेगावाटभन्दा बढी क्षमताका आयोजनाको पीपीए खुलाउने, ‘टेक एन्ड पे’ व्यवस्थाको पुनरावलोकन गरी ‘टेक अर पे’ सुनिश्चित गर्ने, ऊर्जा क्षेत्रलाई प्राथमिकता प्राप्त क्षेत्रका रूपमा स्थापित गर्दै सहुलियत ऋणको व्यवस्था गर्ने तथा प्रसारण लाइन निर्माणमा निजी क्षेत्रको सहभागिता बढाउने लक्ष्य राखिएको छ।

त्यसैगरी, वन तथा वातावरणीय स्वीकृति प्रक्रियालाई सरल बनाउने, एकद्वार प्रणाली लागू गर्न पहल गर्ने, विद्युत व्यापारमा निजी क्षेत्रलाई सहभागी गराउने तथा अन्तरदेशीय विद्युत व्यापार विस्तारका लागि आवश्यक नीतिगत व्यवस्था गर्न जोड दिइएको छ।

लामाले इप्पानलाई केवल दबाब समूह नभई नीति अनुसन्धान र तथ्यमा आधारित वकालत गर्ने संस्थाका रूपमा विकास गरिने बताए। सातै प्रदेशमा इप्पानको प्रभावकारी उपस्थिति, अनुसन्धान केन्द्र स्थापना तथा सदस्यहरूलाई कानुनी, वित्तीय र प्राविधिक सहयोग उपलब्ध गराउने योजना समेत भिजनमा समेटिएको छ।

प्यानलले आफ्नो मुख्य प्रतिबद्धताका रूपमा ‘हामी विरोध होइन—समाधान दिन्छौं’, ‘हामी नारा होइन—संरचना बनाउँछौं’ र ‘हामी व्यक्तिगत होइन—संस्थागत नेतृत्व गर्छौं’ भन्ने नारालाई अघि सारेको छ।

भेलाको अन्त्यमा प्यानलले आगामी निर्वाचनमा आफ्ना उम्मेदवारहरूलाई विश्वास र समर्थन गर्न सम्पूर्ण सदस्यसमक्ष आग्रह गरेको छ।


Read Previous

सफल आयोजना, स्पष्ट दृष्टि र सदस्यहरूको साथ: उपाध्यक्षमा पन्तको बलियो दाबी

Read Next

‘परिवर्तनका लागि सहभागितामूलक ऊर्जा क्षेत्रको नेतृत्व’को एजेन्डासहित बलराम खतिवडा समूह चुनावी मैदानमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar