Nepal Purbadhar

सफल आयोजना, स्पष्ट दृष्टि र सदस्यहरूको साथ: उपाध्यक्षमा पन्तको बलियो दाबी


काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) को आगामी नेतृत्व चयनका लागि हुने निर्वाचनमा वर्तमान कोषाध्यक्ष नरेन्द्र बल्लभ पन्तले उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन्। वरिष्ठ उपाध्यक्षका प्रत्याशी उत्तम लामा नेतृत्वको समूहबाट उनले आफ्नो उम्मेदवारी सार्वजनिक गरेका हुन्।

जेठ २९ गते हुने वार्षिक साधारणसभाबाट नयाँ कार्यसमिति चयन हुँदैछ। ऊर्जा क्षेत्रका अनुभवी उद्यमी तथा सफल व्यवस्थापकका रूपमा परिचित पन्तको उम्मेदवारीले चुनावी माहोललाई थप उत्साहपूर्ण बनाएको छ।

वर्तमान कार्यसमितिमा कोषाध्यक्षको जिम्मेवारी सम्हाल्दै आएका पन्तले संस्थाको वित्तीय व्यवस्थापन, सदस्यहरूसँगको समन्वय तथा ऊर्जा क्षेत्रका साझा मुद्दाहरूमा प्रभावकारी भूमिका निर्वाह गरेका कारण सदस्यहरूमाझ लोकप्रिय छवि बनाएका छन्। इप्पानका धेरै सदस्यहरूले उनलाई आगामी नेतृत्वमा देख्न चाहेको चर्चा ऊर्जा क्षेत्रभित्र व्यापक रूपमा भइरहेको छ।

२२.५ मेगावाट क्षमताको ठूलो खोला हाइड्रोपावर लिमिटेडका अध्यक्ष रहेका पन्तले जलविद्युत् विकासमा उल्लेखनीय योगदान पुर्‍याएका छन्। उनको नेतृत्वमा १० मेगावाटको युनाइटेड मोदी हाइड्रोपावर, ८ मेगावाटको टक्सार पिखुवाखोला हाइड्रोपावर र ५० मेगावाटको युनाइटेड मेवा हाइड्रोपावर सफलतापूर्वक निर्माण भई विद्युत् उत्पादन गरिरहेका छन्। यसबाहेक ६ सय मेगावाटभन्दा बढी क्षमताका विभिन्न जलविद्युत् आयोजनाहरूमा उनको प्रत्यक्ष लगानी र संलग्नता रहेको छ।

नेपाल चेम्बर अफ कमर्सका कार्यसमिति सदस्य तथा ऊर्जा समितिका सभापति समेत रहेका पन्त निजी क्षेत्रको क्षमता, लगानी प्रवर्द्धन र ऊर्जा विकासका पक्षमा स्पष्ट धारणा राख्ने व्यक्तित्वका रूपमा चिनिन्छन्। निर्माण व्यवसाय, ऊर्जा र लगानीका विभिन्न क्षेत्रमा सक्रिय देव ग्रुपका अध्यक्षका रूपमा पनि उनले सफल नेतृत्व प्रदान गरिरहेका छन्।

काठमाडौंको सबलबहालमा जन्मिएका पन्तले सानै उमेरदेखि संघर्ष, मेहनत र अनुशासनको पाठ सिक्दै व्यवसायिक यात्रा सुरु गरेका थिए। अमेरिकामा अध्ययन र रोजगारीको अनुभव लिएपछि स्वदेश फर्केर उनले जलविद्युत् क्षेत्रमा भविष्य देखे। २७ वर्षको उमेरमै जलविद्युत् क्षेत्रमा प्रवेश गरेका पन्तले त्यसयता निरन्तर सफलता हासिल गर्दै ऊर्जा उद्यमीका रूपमा आफ्नो छुट्टै पहिचान स्थापित गरेका छन्।

उनको नेतृत्वमा हालसम्म १७ अर्ब रुपैयाँभन्दा बढी लागतका आयोजनाहरू सम्पन्न भइसकेका छन् भने ४० अर्ब रुपैयाँभन्दा बढी लगानीका नयाँ परियोजनाहरू निर्माणको चरणमा छन्। रुकुमको ७५ मेगावाट, सानीभेरीको १०० मेगावाट तथा रन्मा खोलाको ३५ मेगावाट आयोजनालगायतका परियोजनाहरू अघि बढिरहेका छन्।

ऊर्जा क्षेत्रको विकासमार्फत देशको आर्थिक समृद्धि सम्भव रहेको विश्वास राख्ने पन्त निजी क्षेत्रलाई अझ सक्षम र प्रतिस्पर्धी बनाउने पक्षमा छन्। एकद्वार नीति, प्रसारण पूर्वाधार विस्तार र लगानीमैत्री वातावरण निर्माणका लागि उनले निरन्तर आवाज उठाउँदै आएका छन्।

ऊर्जा उद्यमीहरूका अनुसार पन्तको अनुभव, संस्थागत ज्ञान, सदस्यहरूसँगको निकट सम्बन्ध र विकासप्रतिको स्पष्ट दृष्टिकोणले उनलाई उपाध्यक्ष पदका लागि बलियो उम्मेदवार बनाएको छ। आगामी निर्वाचनमा उनको उम्मेदवारीलाई ऊर्जा क्षेत्रको नयाँ पुस्ता र अनुभवी लगानीकर्ताबीचको सेतुका रूपमा समेत हेरिएको छ।

‘कर्म नै पूजा’ भन्ने जीवन दर्शन बोकेका पन्तले स्वदेशमै रोजगारी सिर्जना, लगानी विस्तार र ऊर्जा क्षेत्रको दिगो विकासलाई आफ्नो प्राथमिकता बनाएका छन्। यही अनुभव, प्रतिबद्धता र नेतृत्व क्षमताका कारण इप्पानको आगामी नेतृत्वमा उनको भूमिका अझ प्रभावकारी हुने अपेक्षा गरिएको छ।


Read Previous

एआई, वुसिया र अन्तर सांस्कृतिक संवादको संगम : काठमाडौंमा हिमालयन रिम फिल्म प्रदर्शनी सुरु

Read Next

उत्तम लामा प्यानलद्वारा उम्मेदवार घोषणा, ‘समाधानमुखी र परिणाम दिने इप्पान’ बनाउने प्रतिबद्धता

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar