
इप्पानलाई सबै ऊर्जा उद्यमीको साझा, शक्तिशाली र प्रतिनिधिमूलक संस्था बनाउने प्रतिबद्धता, संस्थागत सुधारलाई मुख्य एजेन्डा
काठमाडौं । काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को आगामी निर्वाचनका लागि महासचिव बलराम खतिवडाको नेतृत्वमा नयाँ समूहले आफ्नो प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ। ‘परिवर्तनका लागि सहभागितामूलक/प्रतिनिधिमूलक नयाँ र ऊर्जा क्षेत्रको अनुभवी नेतृत्व’ भन्ने नारासहित समूह चुनावी मैदानमा उत्रिएको हो।
समूहले इप्पानको संस्थागत पुनर्संरचना, सहभागितामूलक नेतृत्व, सुशासन तथा ऊर्जा क्षेत्रका साझा मुद्दाको प्रभावकारी समाधानलाई प्राथमिकतामा राख्दै आफ्नो एजेन्डा सार्वजनिक गरेको छ।
प्रतिबद्धतापत्रमा विगतका साधारणसभाबाट पारित भएका संस्थागत सुधारका प्रस्ताव कार्यान्वयन हुन नसकेको उल्लेख गर्दै इप्पानलाई अझ समावेशी, प्रतिनिधिमूलक र सबै ऊर्जा उद्यमीको साझा संस्था बनाउन आवश्यक रहेको औंल्याइएको छ।
समूहका अनुसार हाल इप्पानमा नयाँ ऊर्जा उद्यमीहरूको आकर्षण बढ्दै गएको छ। संस्थागत सुधार र व्यापक सहभागिताको एजेन्डाका कारण पछिल्लो अवधिमा मात्र करिब २५० नयाँ आयोजना तथा कम्पनी इप्पानमा आबद्ध भएका छन् भने हाल मतदाताको संख्या ६ सय ८१ पुगेको छ।
प्रतिबद्धतापत्रमा इप्पानलाई ऊर्जा उत्पादकहरूको प्रभावकारी छाता संगठनका रूपमा विकास गर्ने, सबै सदस्य कम्पनीका समस्या सुन्न हेल्पडेस्क स्थापना गर्ने, नियमित समीक्षा बैठक सञ्चालन गर्ने तथा विभिन्न विषयगत समिति र उपसमिति गठन गरी संस्थागत क्षमता अभिवृद्धि गर्ने योजना समावेश गरिएको छ।
समूहले ऊर्जा क्षेत्रसँग सम्बन्धित कानुन, नीति, आयोजना निर्माण, डिजाइन तथा प्रशासनिक प्रक्रियामाथि अध्ययन–अनुसन्धान गरी सरकारसमक्ष तथ्यमा आधारित सुझाव प्रस्तुत गर्ने जनाएको छ। ऊर्जा पत्रकारको क्षमता विकास, संस्थाको आफ्नै भवन निर्माण तथा सचिवालयलाई अझ व्यवस्थित र प्रविधिमैत्री बनाउने योजना पनि अघि सारिएको छ।
सरकारसँगको सम्बन्धका सन्दर्भमा समूहले १० वर्षमा ३० हजार मेगावाट विद्युत उत्पादन गर्ने राष्ट्रिय लक्ष्य हासिल गर्न निजी क्षेत्र र सरकारबीच प्रभावकारी सहकार्य गर्ने प्रतिबद्धता जनाएको छ। ऊर्जा मन्त्रालय, विद्युत विकास विभाग, विद्युत नियमन आयोग, नेपाल विद्युत प्राधिकरण, नेपाल राष्ट्र बैंक, धितोपत्र बोर्डलगायत निकायसँग संस्थागत सम्बन्ध विकास गरी ऊर्जा क्षेत्रमा लगानीमैत्री वातावरण निर्माणमा जोड दिने उल्लेख गरिएको छ।
समूहले हाल विद्युत खरिद बिक्री सम्झौता (पीपीए) को पर्खाइमा रहेका १६ हजार मेगावाटभन्दा बढी क्षमताका आयोजनाको पीपीए तत्काल खुलाउन पहल गर्ने, ‘टेक अर पे’ व्यवस्था कार्यान्वयनका लागि दबाबमूलक भूमिका खेल्ने तथा प्रसारण लाइन निर्माणमा देखिएका अवरोध हटाउन सरकारसँग समन्वय गर्ने जनाएको छ।
यस्तै, प्रसारण लाइन निर्माणमा निजी क्षेत्रको सहभागिता बढाउने, विद्युत व्यापारमा निजी क्षेत्रलाई अनुमति दिलाउने, आयोजनाको आरसीओडी अवधि थप गर्ने तथा विद्युत उत्पादन प्रभावित हुँदा प्रवर्द्धकले पाउने क्षतिपूर्ति सुनिश्चित गर्न पहल गर्ने प्रतिबद्धता पनि व्यक्त गरिएको छ।
वित्तीय क्षेत्रतर्फ ऊर्जा क्षेत्रमा न्यूनतम २० प्रतिशत कर्जा प्रवाहको व्यवस्था निरन्तरता दिन पहल गर्ने, सहुलियतपूर्ण हरित ऊर्जा कोष स्थापना गर्ने, विदेशी लगानी तथा सहुलियतपूर्ण ऋण भित्र्याउन भूमिका खेल्ने र आईपीओ निष्कासनको प्रक्रिया सहज बनाउन सरकार तथा नियामक निकायसँग समन्वय गर्ने योजना प्रस्तुत गरिएको छ।
प्रतिबद्धतापत्रमा ऊर्जा सम्मेलन आयोजना, अन्तर्राष्ट्रिय ऊर्जा व्यापार विस्तार, निजी क्षेत्रका व्यवसायिक संस्थासँग सहकार्य तथा राजनीतिक दलहरूसँग ऊर्जा नीतिका विषयमा संवाद बढाउने कार्यक्रम पनि समेटिएका छन्।
समूहले इप्पानलाई ऊर्जा उद्यमीहरूको साझा, शक्तिशाली, पारदर्शी र परिणाममुखी संस्था बनाउने प्रतिबद्धता व्यक्त गर्दै आगामी निर्वाचनमा सदस्यहरूको समर्थनका लागि आग्रह गरेको छ।
घोषित प्यानलमा वर्तमान कार्यसमितिका पदाधिकारी तथा जलविद्युत् क्षेत्रका विभिन्न कम्पनीका प्रतिनिधिहरू समेटिएका छन्। प्यानलअनुसार बलराम खतिवडा वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार छन्। उनी एबीपी इनर्जी, एटलस इनर्जी र बराह मल्टिपावर लिमिटेडसँग आबद्ध छन्।
उपाध्यक्ष पदका उम्मेदवारहरूमा वर्तमान उपाध्यक्ष भरतबहादुर खत्री, वर्तमान सचिव भरतप्रसाद नेपाल, कुमार खरेल, इन्जिनियर दीपक पौडेलतथा महिला उपाध्यक्षतर्फ सिर्जना खड्का रहेका छन्।
महासचिव पदका लागि वर्तमान उपमहासचिव प्रकाशचन्द्र दुलाल उम्मेदवार बनेका छन्। सचिव पदमा कृष्णप्रसाद घिमिरे, ताराबहादुर लिम्बु, इन्जिनियर वीरेन्द्रबहादुर मल्ल, संगीता धमला र ईशा श्रेष्ठ रहेका छन्।
कोषाध्यक्ष पदका लागि वर्तमान कार्यसमिति सदस्य इन्जिनियर मिथुन पौडेल उम्मेदवार छन्।
त्यसैगरी सदस्य पदका उम्मेदवारहरूमा सोमनाथ कडेल, डा. भूषण गुरागाईं, सन्तोषराज नेपाल, मिलन खड्का, जगदीश शिवाकोटी, सीए नारायण कडेल, सुकुन्द ओझा, ज्योति गैरे, इन्दिरा पन्त र प्रदीप ओली रहेका छन्।








