
काठमाडौं । बैशाखमा अहिलेसम्म धेरै रेमिट्यान्स भित्रिएको छ ।
बैशाख एक महिनामै २ खर्ब ५७ अर्ब ४९ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ। यो एकै महिनामा भित्रिएको अहिलेसम्मकै धेरै रेमिट्यान्स हो।
चालु आर्थिक वर्षको पहिलो १० महिनामा विप्रेषण (रेमिट्यान्स) आप्रवाह उल्लेख्य रूपमा वृद्धि भएको छ।
नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको तथ्याङ्कअनुसार विदेशमा रहेका नेपालीहरूले यस अवधिमा कुल रु १९ खर्ब १६ अर्ब ९० करोड बराबरको विप्रेषण पठाएका छन्। यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा ४१.२ प्रतिशत वृद्धि हो।
अघिल्लो आर्थिक वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १३.३ प्रतिशतले बढेको थियो।
वैशाख महिनामा मात्र विप्रेषण आप्रवाह रु २ खर्ब ५७ अर्ब ४९ करोड रहेको छ। अघिल्लो वर्षको सोही महिनामा यो रकम रु १ खर्ब ६५ अर्ब ३० करोड थियो।
त्यसैगरी, समीक्षा अवधिमा अमेरिकी डलरमा मापन गर्दा विप्रेषण आप्रवाह ३३ प्रतिशतले वृद्धि भई १३ अर्ब २६ करोड अमेरिकी डलर पुगेको राष्ट्र बैंकले जनाएको छ। अघिल्लो वर्ष सोही अवधिमा यस्तो वृद्धि १०.६ प्रतिशत थियो।
राष्ट्र बैंकका अनुसार विप्रेषण आप्रवाहमा देखिएको उच्च वृद्धिले देशको विदेशी मुद्रा सञ्चिति र समग्र भुक्तानी सन्तुलनमा सकारात्मक प्रभाव पारेको छ।
