
काठमाडौं। नेपाल आयल निगमले बजारमा एलपी ग्यासको कुनै अभाव नरहेको स्पष्ट गर्दै उपभोक्तालाई आवश्यकताअनुसार मात्रै ग्यास खरिद गर्न र अनावश्यक मौज्दात नगर्न आग्रह गरेको छ।
शनिबार जारी प्रेस विज्ञप्तिमा निगमले दैनिक मागअनुसार ग्यास आपूर्ति भइरहेको भए पनि विभिन्न सञ्चारमाध्यममा ग्यास अभाव भएको समाचार प्रकाशित भएपछि आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
निगमले २०८३ असार ३१ गतेको निर्णयअनुसार १४.२ केजी क्षमताका एलपी ग्यास सिलिन्डरको बिक्री–वितरण व्यवस्था लागू गरिसकिएको जनाएको छ। तर, नयाँ व्यवस्था लागू भएपछि बजारमा ग्यास अभाव भएको भन्दै उपभोक्ताबाट गुनासो आउन थालेकाले सबै ग्यास उद्योगलाई बजारमा सहज आपूर्तिको व्यवस्था मिलाउन निर्देशन दिएको छ।
निगमले विक्रेतालाई घरायसी उपभोक्तालाई प्राथमिकतामा राखी खरिदकर्ताको नाम, ठेगाना र सम्पर्क नम्बरको अभिलेख राखेर व्यवस्थित रूपमा ग्यास बिक्री–वितरण गर्न पनि अनुरोध गरेको छ।
काठमाडौं उपत्यकामा केही ग्यास उद्योगको उत्पादनको उच्च मागलाई ध्यानमा राख्दै निगमले शनिबारदेखि टेकुस्थित आफ्नो कार्यालयबाट पनि नेपाल ग्यास, एचपी ग्यास, एभरेष्ट ग्यास, सगुन ग्यास र श्रीराम ग्यासका सिलिन्डर सम्बन्धित उद्योगमार्फत बिहान ११ बजेदेखि बेलुका ५ बजेसम्म बिक्री–वितरण गर्ने व्यवस्था मिलाएको जनाएको छ।
ग्यास नपाएको अवस्थामा कार्यालय समयभित्र निगमको हटलाइन नम्बर ०१–५९७१९०२ मा सम्पर्क गर्न पनि उपभोक्तालाई आग्रह गरिएको छ।
निगमले एलपी ग्यासको आयात तथा बिक्री–वितरण नियमित रूपमा भइरहेको र आगामी दिनमा पनि निरन्तर रहने जनाएको छ। साथै, उपभोक्तालाई आवश्यकता अनुसार मात्रै ग्यास खरिद गर्न तथा अनावश्यक भण्डारण नगर्न आग्रह गरेको छ।
