Nepal Purbadhar

आज साँझसम्म कोदारी सडक खुलाउने प्रयास, मौसम अनुकूल भए सवारी सञ्चालन हुने


काठमाडौं। पहिरोका कारण अवरुद्ध भएको सिन्धुपाल्चोकस्थित अरनिको राजमार्गअन्तर्गत कोदारी सडक आज साँझसम्म सञ्चालनमा ल्याउने प्रयास भइरहेको सडक विभागले जनाएको छ।

सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका-४ जिरोकिलो (तातोपानी जाने बाटो) तथा भोटेकोशी गाउँपालिका-२ कोदारी क्षेत्रमा पहिरो खसेपछि अरनिको राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको हो।

सडक विभागका महानिर्देशक विजय जैशीका अनुसार मौसम अनुकूल रहे आज साँझदेखि सडक सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ। यदि वर्षा निरन्तर जारी रहे सडक भोलिसम्म सञ्चालनमा ल्याउने गरी काम भइरहेको उनले बताए।

“वर्षा कम भए आज साँझबाटै कोदारी सडक सञ्चालनमा ल्याउने लक्ष्य छ। वर्षा निरन्तर भए भोलिसम्म सडक खुलाउने गरी काम भइरहेको छ,” महानिर्देशक जैशीले भने।

उनका अनुसार अवरुद्ध सडकखण्ड छिटो सञ्चालनमा ल्याउन सम्भावित पहिरो प्रभावित स्थानमा डोजर, एक्साभेटर, लोडरलगायत हेभी उपकरण तयारी अवस्थामा राखिएको छ। पहिरो हटाउने काम तीव्र गतिमा अघि बढाइएको विभागले जनाएको छ।

देशका विभिन्न स्थानमा भइरहेको लगातारको वर्षाका कारण राजमार्गमा पहिरोको जोखिम उच्च रहेकाले सडक विभागले यात्रा गर्नुअघि सम्बन्धित सडकको पछिल्लो अवस्था बुझेर मात्रै यात्रा गर्न र आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।


Read Previous

चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो, एक वर्षमा २७ करोडभन्दा बढी पर्यटन राजस्व

Read Next

जलविद्युत् आयोजनाको आरसीओडी म्याद थप्ने तयारी, प्राधिकरणले चार समूहमा वर्गीकरण गर्ने

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar