
काठमाडौं, १६ साउन । राहदानी विभागले सेवाग्राहीको सुविधालाई ध्यानमा राख्दै राहदानी आवेदन फाराम आगामी सोमबार (साउन १८ गते) सम्म खुला राख्ने भएको छ।
विभागले शनिबार सार्वजनिक सूचना जारी गर्दै सार्वजनिक बिदाका दिन शनिबार र आइतबार पनि अनलाइन आवेदन फाराम खुला रहने जनाएको हो।

विभागका अनुसार वैदेशिक रोजगार विभागले साउन १४ गते जारी गरेको सूचनाअनुसार दक्षिण कोरियाको रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत आवेदन दिने म्याद थप गरेपछि राहदानी सेवाको माग बढ्न सक्ने भएकाले थप आवेदन फाराम खुला गरिएको हो।
विभागले आवेदन दिएका सेवाग्राहीलाई आफूले अनलाइन आवेदन फाराममा उल्लेख गरेको मिति र समयमा नै विभागमा उपस्थित भएर राहदानी सेवा लिन आग्रह गरेको छ।

“आवेदन फाराममा उल्लेख गरिएको तोकिएको मिति र समयमा उपस्थित भई राहदानी सेवा लिनुहुन अनुरोध छ,” विभागले सूचनामा भनेको छ।
समयमै उपस्थित हुँदा सेवा प्रवाहलाई थप व्यवस्थित, छिटो र सहज बनाउन सहयोग पुग्ने विश्वास विभागले व्यक्त गरेको छ।

राहदानी विभागले आवश्यक परेमा थप जानकारीका लागि विभागका आधिकारिक माध्यमबाट प्रकाशित सूचना हेर्न पनि सेवाग्राहीलाई आग्रह गरेको छ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी



