
काठमाडौं। नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।
राष्ट्रपतिको कार्यालयमा आज आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलले उनीहरूलाई शपथ गराएका हुन्।
प्रधानमन्त्री बालेन्द्र शाहले आजै मन्त्रिपरिषद् विस्तार गर्दै गुरुङलाई गृहमन्त्री र पुनलाई विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्रीमा नियुक्त गरेका थिए।
गृहमन्त्री गुरुङ गोरखा–१ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधिसभा सदस्य हुन् भने नवप्रवर्तनमन्त्री पुन म्याग्दीबाट निर्वाचित स्वतन्त्र सांसद हुन्।
शपथ ग्रहण समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री शाह, प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा, सभामुख डोलप्रसाद अर्याल, राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल, मन्त्रीहरू, विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, सांसदहरू र संवैधानिक निकायका प्रमुखहरूको उपस्थिति रहेको थियो।
