
काठमाडौं। चालु आर्थिक वर्षको वैशाख महिनामा वार्षिक उपभोक्ता मुद्रास्फीति (मूल्यवृद्धि) ५.०४ प्रतिशत रहेको छ। अघिल्लो आर्थिक वर्ष २०८२/८३ को सोही अवधिमा यस्तो मुद्रास्फीति २.६६ प्रतिशत रहेको थियो।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कअनुसार समीक्षा अवधिमा विभिन्न आर्थिक सूचकहरूमा मिश्रित प्रवृत्ति देखिएको छ।
कुल विदेशी विनिमय सञ्चिति करिब ३७ खर्ब ५५ अर्ब रुपैयाँ पुगेको छ। अमेरिकी डलरमा यस्तो सञ्चिति २४ अर्ब १९ करोड रहेको छ। यस अवधिमा १९.२ महिनासम्मको वस्तु तथा सेवा आयात धान्न सक्ने सञ्चिति रहेको राष्ट्र बैंकले जनाएको छ।
चालु आर्थिक वर्षको वैशाख महिनासम्मको विप्रेषण आप्रवाह रु २ खर्ब ५७ अर्ब ४९ करोड पुगेको छ।
समीक्षा अवधिमा चालु खाता रु ७९२ अर्ब २८ करोड बचतमा रहेको छ भने शोधनान्तर स्थिति रु ८६३ अर्ब ५६ करोड बचतमा रहेको छ।
वैदेशिक व्यापारमा निर्यात ४१.२ प्रतिशतले वृद्धि भएको छ भने आयात १४.८ प्रतिशतले वृद्धि भएको छ।
सरकारी खर्चतर्फ रु ११ खर्ब ५२ अर्ब खर्च भएको छ भने राजस्व परिचालन रु ९ खर्ब ८८ अर्ब रहेको छ।
वाणिज्य बैंकहरूको निक्षेप वृद्धि ९.३५ प्रतिशत र कर्जा वृद्धि ६.८७ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ।
बैंकिङ क्षेत्रमा औसत अन्तरबैंक दर २.७५ प्रतिशत र ट्रेजरी बिलको औसत ब्याजदर २.६३ प्रतिशत रहेको छ। वाणिज्य बैंकहरूको औसत आधार दर ३.३५ प्रतिशत र कर्जाको औसत ब्याजदर ६.८७ प्रतिशत रहेको तथ्याङ्कमा उल्लेख छ।
