Nepal Purbadhar

एडिबी र ह्वावे नेपाल स्मार्ट शिक्षाको प्रवर्द्धनमा सक्रिय, विश्व निकेतन माध्यमिक विद्यालयसँग सहकार्य


काठमाडौं। एसियाली विकास बैंक (एडीबी) र ह्वावे नेपालले विश्व निकेतन माध्यमिक विद्यालयसँगको सहकार्यमा स्मार्ट कक्षा तथा विद्यार्थी वैज्ञानिक अनुसन्धान सीप विकास कार्यक्रम सुरु गरेका छन्। डिजिटल प्रविधिमार्फत शिक्षण–सिकाइ प्रणालीलाई आधुनिक बनाउने र गुणस्तरीय शिक्षामा पहुँच विस्तार गर्ने उद्देश्यका साथ यो पहल अघि बढाइएको हो।

काठमाडौंको त्रिपुरेश्वरस्थित विश्व निकेतन माध्यमिक विद्यालयमा सञ्चालन गरिएको कार्यक्रममार्फत काठमाडौं उपत्यकाका विद्यालयलाई उपत्यकाबाहिरका विद्यालयसँग जोड्दै नेपालको पहिलो सहकार्यात्मक स्मार्ट शिक्षा प्लेटफर्म विकास गर्ने लक्ष्य राखिएको छ।

यस प्लेटफर्ममार्फत विद्यार्थी र शिक्षकहरूले प्रत्यक्ष वैज्ञानिक अनुसन्धान सत्र, अन्तरक्रियात्मक कक्षा तथा वास्तविक समयमै ज्ञान आदान–प्रदान गर्दै संयुक्त रूपमा सिकाइ गर्न सक्नेछन्। ह्वावेको स्मार्ट कक्षा समाधानमार्फत दुर्गम क्षेत्रका विद्यालयका विद्यार्थीहरूले गुणस्तरीय विज्ञान शिक्षा, डिजिटल शैक्षिक सामग्री तथा विश्व निकेतनका विद्यार्थीहरूसँग सहकार्यात्मक सिकाइको अवसर प्राप्त गर्ने जनाइएको छ।

यस कार्यक्रमले शिक्षकहरूबीच अनुभव आदान–प्रदान, उत्कृष्ट शिक्षण अभ्यास साझा गर्ने तथा संयुक्त रूपमा कक्षा सञ्चालन गर्ने वातावरण पनि सिर्जना गर्ने अपेक्षा गरिएको छ। आयोजकका अनुसार यस पहलले विद्यालयहरूलाई डिजिटल रूपमा जोडेर शहरी र ग्रामीण क्षेत्रबीचको शैक्षिक असमानता कम गर्न सहयोग पुग्नेछ।

ह्वावेको स्मार्ट शिक्षा अवधारणा शहरी तथा ग्रामीण क्षेत्रबीचको शैक्षिक अन्तर घटाउने, शिक्षकलाई डिजिटल उपकरणमार्फत सशक्त बनाउने तथा तथ्यांकमा आधारित विश्लेषणबाट सिकाइ प्रक्रियालाई प्रभावकारी बनाउने तीन प्रमुख लक्ष्यमा केन्द्रित रहेको कम्पनीले जनाएको छ।

ह्वावे नेपालका प्रमुख कार्यकारी अधिकृत चेस्टर चेनले कनेक्टिभिटीले ज्ञान, मानिस र अवसरलाई जोड्नुपर्ने बताउँदै देशभरका विद्यालयलाई डिजिटल रूपमा जोडेर विद्यार्थी र शिक्षकबीच सहकार्यको नयाँ अवसर सिर्जना गर्ने लक्ष्य रहेको बताए।

एडीबीका वरिष्ठ शिक्षा विशेषज्ञ जेफ्री जियान शुले नवप्रवर्तन, सहकार्य र डिजिटल प्रविधिको प्रयोगमार्फत सबै विद्यार्थीका लागि गुणस्तरीय र समावेशी शिक्षा प्रणाली निर्माण गर्न एडीबी प्रतिबद्ध रहेको बताए।

आयोजकका अनुसार यस सहकार्यले वैज्ञानिक साक्षरता अभिवृद्धि, शिक्षणको गुणस्तर सुधार तथा नेपालको डिजिटल रूपान्तरणलाई गति दिन योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।


Read Previous

जलविद्युत् आयोजनाको आरसीओडी म्याद थप्ने तयारी, प्राधिकरणले चार समूहमा वर्गीकरण गर्ने

Read Next

नारायणगढ-मुग्लिन सडकमा ओभरटेकमा कडाइ, नियन्त्रण गर्न प्रशासनको सक्रियता

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar