Nepal Purbadhar

प्रदेश सशक्तीकरणदेखि सुनसरीको अवस्था समाधानसम्म सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह

प्रधानमन्त्री वालेन्द्र शाह।


काठमाडौं, १६ साउन । प्रधानमन्त्री वालेन्द्र शाहले प्रदेशहरूको सशक्तिकरण, संघीयताको प्रभावकारी कार्यान्वयन, सुनसरीलगायत जिल्लामा विकसित संवेदनशील अवस्थाको समाधान तथा सामाजिक सद्भाव कायम गर्न सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएका छन्।

शनिबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा तराई–मधेशका राजनीतिक नेताहरू तथा मधेश प्रदेशबाट प्रतिनिधित्व गर्ने सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरूसँग छुट्टाछुट्टै भएको छलफलमा प्रधानमन्त्री शाहले संविधानको प्रभावकारी कार्यान्वयन, राष्ट्रिय एकता र शान्ति–सुरक्षा सरकारको प्रमुख प्राथमिकता रहेको स्पष्ट पारे।

तराई–मधेशका नेताहरूसँगको बैठकमा प्रधानमन्त्री शाहले संविधान जारी भएपछि संघीयताको अभ्यास निरन्तर अघि बढिरहेको उल्लेख गर्दै प्रदेशहरूलाई संविधानले सुनिश्चित गरेका अधिकारको प्रभावकारी कार्यान्वयन तथा स्थानीय तहसम्म अधिकारको सहज प्रत्यायोजनका लागि सरकार प्रतिबद्ध रहेको बताए।

उनले सरकारले प्रस्तुत गरेको बजेट समावेशी रहेको र त्यसले देशका सबै भौगोलिक क्षेत्र, समुदाय तथा सीमान्तकृत वर्गको हितलाई समेट्ने उद्देश्य राखेको बताए। प्रधानमन्त्रीका रूपमा सम्पूर्ण नागरिकलाई समान दृष्टिले हेर्ने र प्रधानमन्त्री कार्यालय प्रत्येक नागरिकप्रति समान रूपमा उत्तरदायी रहने प्रतिबद्धता पनि उनले दोहोर्‍याए।

प्रधानमन्त्री शाहले वर्तमान संवेदनशील परिस्थितिमा संविधानले अंगीकार गरेका आधारभूत मूल्य, लोकतान्त्रिक व्यवस्था, विधिको शासन तथा राष्ट्रिय एकतामा कुनै पनि प्रकारको सम्झौता गर्न नसकिने बताए। ‘संविधान बलियो भए मात्रै सम्पूर्ण नेपालीको भविष्य बलियो हुन्छ’ भन्ने राष्ट्रिय संकल्प व्यक्त गर्दै उनले सबै राजनीतिक दल, सामाजिक तथा धार्मिक नेतृत्व तथा आम नागरिकलाई संयमता अपनाउन, संवादलाई प्राथमिकता दिन र राष्ट्रिय एकताको पक्षमा दृढतापूर्वक उभिन आह्वान गरे।

बैठकमा महन्थ ठाकुर, राजेन्द्र महतो, लालबाबु राउत, रामकुमार शर्मा, समिम मियाँ अन्सारी, प्रभु साह, शरतसिंह भण्डारी र डा. सी.के. राउतलगायत नेताहरू सहभागी थिए। उनीहरूले तराई–मधेशका समसामयिक समस्या, सुरक्षा चुनौती, सुशासन, संघीयताको प्रभावकारी कार्यान्वयन तथा क्षेत्रीय विकासका विषयमा आफ्ना सुझाव र धारणा राखेका थिए।

त्यसैगरी, मधेश प्रदेशबाट प्रतिनिधित्व गर्ने रास्वपाका सांसदहरूसँगको छलफलमा प्रधानमन्त्री शाहले सुनसरीलगायत जिल्लामा विकसित पछिल्लो संवेदनशील अवस्थाको समाधान, नागरिकको जिउधनको सुरक्षा र सामाजिक सद्भाव कायम गर्न सरकार योजनाबद्ध रूपमा सक्रिय रहेको बताए।

उनले राज्यका सुरक्षा तथा प्रशासनिक संयन्त्र उच्च सतर्कताका साथ परिचालित भइसकेकाले नागरिकलाई संयमता अपनाउन र अफवाहमा नलाग्न आग्रह गरे। प्रभावित नागरिकसम्म तत्काल पुग्ने, सुरक्षाको प्रत्याभूति गराउने तथा घटनाको निष्पक्ष छानबिन सुनिश्चित गर्नु सरकारको पहिलो प्राथमिकता रहेको उनको भनाइ थियो।

प्रधानमन्त्री शाहले शान्ति–सुरक्षा प्रभावकारी बनाउन र परिस्थितिलाई थप जटिल हुन नदिन सरकारले बहुपक्षीय रणनीति अपनाएको उल्लेख गर्दै रास्वपाका सांसदहरूलाई आफ्नो निर्वाचन क्षेत्रमा पुगेर नागरिक र राज्यबीच विश्वास तथा सद्भावको पुल बन्न आग्रह गरे। आपत्कालीन अवस्थामा जनताको घरदैलोमा पुगेर उनीहरूको दुःख–सुखमा साथ दिनु जनप्रतिनिधिको प्रमुख दायित्व भएको उनले बताए।

सांसदहरूले प्रधानमन्त्रीको आग्रहलाई सकारात्मक रूपमा ग्रहण गर्दै तत्काल आफ्नो निर्वाचन क्षेत्रमा खटिने प्रतिबद्धता जनाएका थिए। उनीहरूले प्रधानमन्त्रीले राष्ट्रका नाममा गरेको सम्बोधनले देशभर, विशेषगरी प्रभावित क्षेत्रमा सकारात्मक सन्देश र विश्वासको वातावरण सिर्जना गरेको धारणा राखे।

छलफलमा सांसदहरूले स्थानीय तहमा दीर्घकालीन शान्ति र सामाजिक सद्भाव कायम गर्न धार्मिक गुरु, नागरिक समाज, बुद्धिजीवी तथा स्थानीय राजनीतिक दलसँग निरन्तर संवाद आवश्यक रहेको सुझाव दिए। साथै, सामाजिक सञ्जालमार्फत फैलिने भ्रम र अफवाहबाट युवालाई जोगाउन जनचेतनामूलक अभियान सञ्चालन गर्न तथा धार्मिक सहिष्णुता र सामाजिक एकताको सन्देश निरन्तर प्रवाह गर्नुपर्नेमा जोड दिए।


Read Previous

सामाजिक सद्भाव कायम राख्न इप्पानको अपिल, शान्तिपूर्ण वातावरणमा विकास अघि बढाउन आग्रह

Read Next

एलपी ग्यासको अभाव छैन-आयल निगम, टेकुबाट पनि पाँच ब्रान्डका भरी सिलिन्डर बिक्री

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar